२०८३ आश्विन १८, आईतबार | Sun, 04, Oct, 2026

काभ्रे सहकारी संघमा १ अर्ब २८ करोड निक्षेप


१४३१ पाठक संख्या
  • २०८३ आश्विन १८, आईतबार मा प्रकाशित ३ घण्टा अघि
  • बनेपा । काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघ लिमिटेडको ४५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा संघको वार्षिक गतिविधि, आगामी कार्ययोजना, आर्थिक अवस्था तथा सहकारी क्षेत्रमा भएका कानुनी र नीतिगत परिवर्तनबारे समीक्षा गरिएको छ।

    संघका अध्यक्ष अमन पोटेको अध्यक्षतामा सम्पन्न सभामा उहाँले संघका पछिल्ला गतिविधि, आगामी योजना तथा सहकारीसम्बन्धी परिवर्तित नियम, कानुन र ऐनबारे जानकारी गराउनुभएको थियो।

    संघका सचिव प्रकाश बञ्जाराले सांगठनिक, संरचनागत तथा नीतिगत गतिविधि, स्थापना दिवसका अवसरमा गरिएका कार्यक्रम र सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएका विभिन्न गतिविधिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

    त्यस्तै, कोषाध्यक्ष अर्जुन सापकोटाले गत आर्थिक वर्षको आम्दानी तथा खर्च, चालु आर्थिक वर्षको बजेट, आर्थिक कारोबार, लाभांश वितरण, खर्च कटौती तथा राज्यका निकायमा राजस्वमार्फत संघले पु¥याएको योगदानसम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थियो। लेखा समितिका तर्फबाट सदस्य पवनराज कर्णजितले लेखासम्बन्धी गतिविधिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

    सभामा प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएका छन्। संघका अनुसार हाल संघको शेयर पुँजी ३ करोड ४९ लाख ६ हजार ४ सय रुपैयाँ रहेको छ भने निक्षेप १ अर्ब २८ करोड ४३ लाख ९ हजार ८ सय १४ रुपैयाँ पुगेको छ। त्यस्तै, संघले ३६ करोड ७ लाख ७ हजार ७ सय ६९ रुपैयाँ कर्जा लगानी गरेको जानकारी गराइएको छ।

    सभामा विगतका वर्षको तुलनामा शेयर पुँजी, लगानी तथा आम्दानीमा कमी आएको र खर्चलाई समेत नियन्त्रण गर्दै घटाइएको जानकारी दिइएको थियो।

    साधारण सभाको अवसरमा संघले विभिन्न क्षेत्रमा योगदान पु¥याउने सहकारी संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ। सहयात्रा देविस्थान बहुउद्देश्यीय सहकारी, पनौती–६, प्रतिष्ठा कृषि सहकारी, पाँचखाल–३, नमस्ते कृषि सहकारी, धुलिखेल–३, सञ्चारकर्मी मोतिराम तिमल्सिना तथा सर्वोत्कृष्ट सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीलाई सम्मान गरिएको हो।

    कार्यक्रममा संघकी महिला उपाध्यक्ष मीरा सत्यालले स्वागत मन्तव्य राख्नुभएको थियो। उपाध्यक्ष शान्ति लामा, सञ्चारकर्मी मोतिराम तिमल्सिना, ज्ञानबहादुर थापालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    सभामा जिल्लाको सहकारी क्षेत्रको पछिल्लो अवस्थाबारे समेत जानकारी गराइएको थियो। डिभिजन सहकारीबाट हस्तान्तरण गरिएका १ हजार ४ सय ९५ सहकारीमध्ये हाल ५ सय ८८ वटा सञ्चालनमा रहेको जानकारी दिइएको छ। सहकारी एकीकरण तथा बन्द हुने क्रम जारी रहेकाले नियमित रूपमा सञ्चालनमा रहेका सहकारीको संख्या घट्दै गएको बताइएको छ। जिल्ला सहकारी संघमा भने हाल ५ सय ८८ सहकारी संस्था आबद्ध रहेको जानकारी सभामा दिइएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑