पाँचखाल, काभ्रेपलाञ्चोक । कृषि तथा पशुपालन व्यवसायमा लगानी विस्तार गर्न चाहने पाँचखालका कृषकले अब तीन करोड रुपैयाँसम्म कृषि कर्जा लिन सक्ने भएका छन्। पाँचखाल नगरपालिकाले निक्षेप तथा कर्जा सुरक्षण कोषमा ५० लाख रुपैयाँ जम्मा गरेसँगै त्रिपक्षीय साझेदारीमा कृषि कर्जा सुरक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो। कार्यक्रमअन्तर्गत विनाधितो महिलाले २० लाख र पुरुषले १५ लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन् भने धितो राखेर अधिकतम तीन करोड रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ।
कृषि तथा पशुपालन व्यवसायमा संलग्न कृषक तथा कृषि उद्यमीलाई वित्तीय पहुँच विस्तार गर्ने, कृषि व्यवसायको आधुनिकीकरण, उत्पादन वृद्धि र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले युएनडिपी, पाँचखाल नगरपालिका र निक्षेप तथा कर्जा सुरक्षण कोषको साझेदारीमा कार्यक्रम सञ्चालन हुन लागेको हो। यस कार्यक्रमले परम्परागत कृषि प्रणालीबाट व्यावसायिक तथा आधुनिक कृषितर्फ अघि बढ्न चाहने कृषकलाई लगानी जुटाउन सहज बनाउने अपेक्षा गरिएको छ।
देशका नौ स्थानीय तहमा लागू गरिएको कृषि कर्जा सुरक्षण कार्यक्रम पाँचखाल नगरपालिकामा समेत विस्तार भएपछि यहाँका कृषकले राष्ट्रिय वाणिज्य बैंकमार्फत कृषि व्यवसायका लागि कर्जा लिन सक्नेछन्। कृषि व्यवसायको प्रकृति, लगानीको आवश्यकता, व्यवसायिक योजना तथा बैंकको मूल्याङ्कनका आधारमा कर्जा प्रवाह गरिने व्यवस्था छ।
कार्यक्रमअन्तर्गत कृषकले न्यूनतम दुई लाख ५० हजार रुपैयाँदेखि अधिकतम तीन करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। कर्जाको अवधि बढीमा सात वर्षसम्म रहने र प्रत्येक स्थानीय तहमा आठ करोड रुपैयाँसम्म कर्जा लगानी गर्ने लक्ष्य राखिएको छ। कर्जामा ७० देखि ८० प्रतिशतसम्म सुरक्षण व्यवस्था रहने भएकाले बैंकको जोखिम न्यूनीकरणसँगै कृषि क्षेत्रमा कर्जा प्रवाह बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कृषि कर्जा सुरक्षण कार्यक्रमबाट आलु तथा तरकारी खेती, फलफूल उत्पादन, पशुपालन, बाख्रापालन, कुखुरापालन, दुग्ध उत्पादन, माछापालनलगायत व्यावसायिक कृषि गतिविधिमा संलग्न कृषक लाभान्वित हुन सक्नेछन्। त्यस्तै, कृषि यन्त्र तथा उपकरण खरिद, कृषि उपजको भण्डारण, प्रशोधन, ढुवानी र बजारीकरणजस्ता क्षेत्रमा समेत लगानी गर्न कर्जाको उपयोग गर्न सकिनेछ।
कृषि उत्पादनका दृष्टिले महत्त्वपूर्ण मानिने पाँचखालमा आलु, तरकारी तथा विभिन्न नगदेबालीको व्यावसायिक खेती हुँदै आएको छ। खेतीयोग्य जमिन, कृषकको अनुभव र बजारको सम्भावनालाई उपयोग गर्दै सिँचाइ सुविधा, आधुनिक कृषि प्रविधि, उपकरण, उत्पादन व्यवस्थापन तथा भण्डारणमा लगानी बढाउन सके कृषि व्यवसायलाई थप उत्पादनमुखी र प्रतिफलमूलक बनाउन सकिने विश्वास गरिएको छ। पर्याप्त लगानीको अभावमा व्यवसाय विस्तार गर्न नसकेका कृषकका लागि यो कार्यक्रम अवसर बन्न सक्ने देखिएको छ।
कृषि कर्जामा पहुँच बढाउने तथा सुरक्षण कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा शुक्रबार पाँचखाल नगरपालिकाको सभाहलमा त्रिपक्षीय साझेदारीका प्रतिनिधि तथा सरोकारवालाबीच छलफल भएको थियो। छलफलमा नगर उपप्रमुख सूर्यमाया दनुवार, नगर प्रवक्ता सञ्जय तामाङ, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कृषि विकास शाखा प्रमुख हेमन्त पौडेल तथा सम्बन्धित बैंकका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
त्रिपक्षीय छलफलपछि उद्यमशील कृषकहरूसँग समेत कृषि कर्जा, लगानीको आवश्यकता, कर्जा उपयोग र कृषि व्यवसाय विस्तारका सम्भावनाबारे अन्तरक्रिया गरिएको थियो। कार्यक्रमले कृषकलाई सहज रूपमा कर्जा उपलब्ध गराउने, कृषि उद्यममा लगानी प्रोत्साहित गर्ने तथा स्थानीय उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्य लिएको छ।
कृषि कर्जा लिन इच्छुक पाँचखालका कृषकले कर्जाको सीमा, ब्याजदर, आवश्यक कागजात, व्यावसायिक योजना, सुरक्षण प्रक्रिया तथा आवेदनसम्बन्धी थप जानकारीका लागि सम्बन्धित बैंक शाखामा सम्पर्क गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस