२०८३ आश्विन १८, आईतबार | Sun, 04, Oct, 2026

ग्रामिण महिला विकास सहकारीले कमायो ५७ लाख नाफा


२४९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८३ आश्विन १८, आईतबार मा प्रकाशित ११ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–६, तिनपिप्ले बजारस्थित ग्रामिण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

    संस्थाका अध्यक्ष इन्दिरा गौतमको अध्यक्षतामा सम्पन्न साधारण सभामा पाँचखाल नगरपालिकाका उपप्रमुख एवं संथा शेयर सदस्य सूर्य माया दनुवार प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा पाँचखाल नगरपालिका–६ का वडाध्यक्ष रामशरण दुलाल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

    संस्थाका सञ्चालक सदस्य गणेशमाया श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष रोहितकुमारी हुमागाईंले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

    सभामा प्रमुख अतिथि दनुवार, वडाध्यक्ष दुलाल, जिल्ला समन्वय समितिकी प्रवक्ता तथा संस्थाकी सदस्य अप्सरा ढुंगाना सिपखान, संस्थाकी पूर्वअध्यक्ष सरस्वती चिमौरिया, संस्थाका सल्लाहकार तथा सञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली, प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशवप्रसाद काफ्ले, पाँचखाल भ्याली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदार लुइटेल र प्रतिष्ठा कृषि सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    संस्थाकी सहसचिव कुसुम दुलालले संस्थाको प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष तिलकादेवी अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

    आर्थिक प्रतिवेदनअनुसार संस्थामा हाल १ हजार ८ सय ४० शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पुँजी १ करोड ४० लाख रुपैयाँ, बचत निक्षेप ९ करोड ३९ लाख ४२ हजार १ सय ६४ रुपैयाँ, विभिन्न जगेडा कोषमा १ करोड ५५ लाख ७७ हजार ३ सय ७७ रुपैयाँ रहेको छ।

    त्यस्तै, संस्थाले १० करोड २८ लाख ८० हजार रुपैयाँ कर्जा लगानी गरेको छ। बैंक मौज्दात ४ करोड १५ लाख ८३ हजार ४ सय ५५ रुपैयाँ, नगद मौज्दात ९ लाख ९५ हजार २ सय ५८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ। संस्थाले आर्थिक वर्षमा ५७ लाख ६८ हजार ६ सय ८७ रुपैयाँ खुद नाफा गरेको जनाएको छ।

    विभिन्न व्यक्ति तथा सदस्य सम्मानित

    संस्थाको ३१औँ साधारण सभाको अवसरमा विभिन्न विधामा योगदान पुर्‍याउने सदस्य तथा व्यक्तित्वलाई सम्मान गरिएको छ।

    अधिकतम शेयर खरिदकर्तामध्ये संस्थाकी पूर्वअध्यक्ष सरस्वती चिमौरिया र विष्णुमाया तामाङलाई सम्मान गरिएको थियो। त्यसैगरी, शैक्षिक सत्र २०८२ मा नवप्रतिभा माध्यमिक विद्यालयमा अध्ययनरत अपसना श्रेष्ठले ४ जीपीए प्राप्त गरी पाँचखाल टप गर्न सफल भएको भन्दै सम्मान गरिएको थियो।

    असल बाल बचतकर्तातर्फ स्मृति लामा र पवन श्रेष्ठ तथा असल ऋणीतर्फ धनमाया तामाङ र रुकमणी गौतमलाई सम्मान गरिएको थियो। साथै, संस्थाका ४० जना ज्येष्ठ सदस्यलाई समेत सम्मान गरिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑