२०८३ आश्विन २९, बिहिबार | Thu, 15, Oct, 2026

पाँचखालमा निःशुल्क हेल्प डेस्क सञ्चालन, सेवाग्राहीलाई सहज


३५११ पाठक संख्या
  • २०८३ आश्विन २९, बिहिबार मा प्रकाशित १२ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले अशक्त, अपाङ्गता भएका व्यक्ति, अशिक्षित तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै निःशुल्क हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । नगरपालिकाबाट सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक कागजात तयार गर्न र सेवा प्रक्रियामा सहजीकरण गर्ने उद्देश्यले हेल्प डेस्क स्थापना गरिएको हो ।

    हेल्प डेस्कमार्फत सेवाग्राहीलाई निवेदन तथा विभिन्न फाराम भर्न, आवश्यक कागजात व्यवस्थापन गर्न, फोटोकपी गर्न तथा सम्बन्धित विषयमा परामर्श लिन निःशुल्क सहयोग गरिने नगरपालिकाले जनाएको छ । विशेषगरी आफैँ कागजात तयार गर्न कठिनाइ हुने सेवाग्राहीलाई लक्षित गरी यो सेवा सुरु गरिएको हो ।
    नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्याण सुवेदीका अनुसार नगरप्रमुख महेश खरेल, उपप्रमुख सूर्यमाया दनुवारलगायत जनप्रतिनिधिको चाहनाअनुसार कार्यपालिकाले हेल्प डेस्क सञ्चालन गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार सेवाग्राहीलाई सहज, सरल र निःशुल्क सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाँले जानकारी गराउनुभयो ।

    हेल्प डेस्क सञ्चालन तथा व्यवस्थापनका लागि नगरपालिका पशु शाखाकी लक्ष्मी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरिएको छ । टोलीमा नगर प्रहरी माधव मैनाली र निशा बिसंखे सदस्यका रूपमा रहनुभएको छ ।
    हेल्प डेस्क उद्घाटनका अवसरमा नगरप्रमुख महेश खरेलले नगरपालिकाबाट सेवा लिन आउने कुनै पनि नागरिकले आवश्यक जानकारी र कागजात तयार गर्न नसकेकै कारण समस्या भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न हेल्प डेस्क प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भननुभयो , “स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । त्यसैले नगरपालिकाबाट सेवा लिन आउने नागरिकले सहज रूपमा सेवा पाउनु सेवाग्राहिकोे अधिकार हो । विशेषगरी अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा लेखपढ गर्न कठिनाइ हुने नागरिकलाई सेवा लिन थप सहज होस् भन्ने उद्देश्यले हेल्प डेस्क सञ्चालनमा ल्याएका हौँ ।”

    उहाँले थप्नुभयो, “सेवाग्राहीले सामान्य निवेदन लेख्न, फाराम भर्न वा आवश्यक कागजातको फोटोकपी गर्न नसक्दा अनावश्यक झन्झट र खर्च बेहोर्नुपर्ने अवस्थालाई कम गर्न हामीले यो व्यवस्था गरेका हौँ । हेल्प डेस्कले नागरिकलाई आवश्यक सहयोग, परामर्श र सहजीकरण निःशुल्क उपलब्ध गराउनेछ ।”

    नगरप्रमुख खरेलले हेल्प डेस्कलाई औपचारिकतामा सीमित नराखी सेवाग्राहीमैत्री रूपमा सञ्चालन गर्न सम्बन्धित कर्मचारीलाई आग्रह गर्दै नगरपालिकाबाट प्रदान गरिने सेवामा सरलता, पारदर्शिता र नागरिकको सहज पहुँचलाई प्राथमिकता दिइने बताउनुभयो ।

    नगरपालिकाको यो पहलले विशेष सहयोग आवश्यक पर्ने नागरिकलाई सेवा प्राप्त गर्न सहज बनाउनुका साथै सार्वजनिक सेवालाई थप नागरिकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑