२०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

दनुवार समुदायको पहिचान र संस्कृति जोगाउँदै डोनेकप सम्पन्न


१२७५ पाठक संख्या
  • २०८३ कार्तिक १, शनिबार मा प्रकाशित ६ घण्टा अघि
  •  काभ्रेपलाञ्चोक, पाँचखाल । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित रातामाटे खेलमैदानमा आयोजित चौथो डोनेकप फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

    दनुवार समुदायको पहिचान, भाषा, धर्म तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुका साथै युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै उनीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सिन्धुपाल्चोकको भिमटार फुटबल क्लब च्याम्पियन बनेको छ।

    असोज २२ गतेदेखि ३० गतेसम्म लगातार नौ दिन सञ्चालन भएको प्रतियोगितामा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका गरी १४ टोलीले सहभागिता जनाएका थिए। सहभागी टोलीमध्ये सिन्धुपाल्चोकबाट दुई र काभ्रेपलाञ्चोकबाट १२ टोली रहेका थिए। काभ्रेपलाञ्चोकका सहभागीमध्ये मण्डनदेउपुर नगरपालिकाबाट तीन तथा पाँचखाल नगरपालिकाबाट सात टोलीले प्रतिस्पर्धा गरेका थिए।

    प्रतियोगिताको फाइनल खेलमा भिमटार फुटबल क्लब, सिन्धुपाल्चोकले ब्राइट स्टार युथ क्लब, पाँचखाललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भयो। प्रतिस्पर्धात्मक फाइनलमा भिमटारले एक गोल गर्दै जित सुनिश्चित गरेको थियो भने ब्राइट स्टार युथ क्लबले गोल गर्न सकेन। उपविजेतामा सीमित भए पनि ब्राइट स्टार युथ क्लबले प्रतियोगितामा उपस्थिति जनाउँदै खेलकुदप्रतिको आफ्नो सक्रियता प्रस्तुत गरेको छ।

    प्रतियोगितामा प्रथम हुने भिमटार फुटबल क्लबलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसैगरी, दोस्रो हुने ब्राइट स्टार युथ क्लबलाई नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

    प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवारले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गर्नुभएको थियो। कार्यक्रममा उहाँले खेलकुदले युवाहरूमा अनुशासन, सहकार्य, आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुर्‍याउने सन्दर्भमा धारणा राख्नुभएको थियो।

    ब्राइट स्टार युथ क्लब, पाँचखालका अध्यक्ष बलराम दनुवारको सभाध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा पाँचखाल नगरपालिका–४ का वडाध्यक्ष सुन्दर तामाङ र वडा नं. १२ का वडाध्यक्ष ज्ञानबहादुर दनुवारले प्रतियोगिता आयोजना गर्नुको आवश्यकता र महत्वबारे आ–आफ्ना धारणा राख्नुभएको थियो। उहाँहरूले यस्ता प्रतियोगिताले स्थानीय युवाहरूलाई खेलकुदमा सक्रिय बनाउन, खेल प्रतिभाको विकास गर्न तथा समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउन योगदान पुर्‍याउने विषयमा जोड दिनुभएको थियो।

    सरस्वती राईले सञ्चालन गर्नुभएको कार्यक्रममा विष्णु दनुवारले स्वागत मन्तव्य राख्नुभएको थियो।

    प्रतियोगिता सञ्चालनका लागि पाँचखाल नगरपालिकाले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो। त्यसैगरी, लालपुर्जा पाँचखाल घरजग्गा रियल स्टेट प्रा.लि.ले ५० हजार रुपैयाँ सहयोग गरेको थियो। स्थानीय व्यवसायीहरूको आर्थिक सहयोगसमेतमा प्रतियोगिता सम्पन्न भएको आयोजकले जनाएको छ।

    दनुवार समुदायको पहिचानसँग जोडिएको डोनेकप फुटबल प्रतियोगिताले खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी भाषा, धर्म, संस्कृति तथा सामुदायिक एकताको संरक्षण र प्रवर्द्धन गर्ने माध्यमका रूपमा समेत अघि बढाएको छ। यस्ता प्रतियोगिताले स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभालाई अवसर प्रदान गर्नुका साथै युवाहरूलाई सकारात्मक गतिविधिमा सहभागी गराउन र नयाँ पुस्तामा आफ्नो मौलिक पहिचानप्रति अपनत्व जगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑