२०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

तीन सातापछि शाहीले पाए विश्वासको मत, सरकार विस्तारको गाँठो फुक्यो


१५६१ पाठक संख्या
  • २०८३ भाद्र ३, बुधबार मा प्रकाशित २२ घण्टा अघि
  • सुर्खेत, ३ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो।

    कुल ४० सदस्यीय कर्णाली प्रदेशसभामा बुधबार ३६ सांसद उपस्थित थिए। मतदानमा मुख्यमन्त्री शाहीको पक्षमा २१ मत परेको छ भने विपक्षमा १३ मत र २ मत तटस्थमा परेको छ। सरकार गठनका लागि आवश्यक २१ सांसदको समर्थन जुटाउँदै शाहीले आफ्नो सरकारलाई संवैधानिक रूपमा थप मजबुत बनाएका छन्।

    प्रदेशसभामा सत्तारूढ नेपाली कम्युनिस्ट पार्टीका १४ र नेकपा एमालेका १० गरी २४ सांसद छन्। यस्तै, नेपाली कांग्रेसका १५, नेकपा परित्याग गरेका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन्। सभामुख नन्दा गुरुङले बहुमत सांसदले प्रस्तावको पक्षमा मतदान गरेको घोषणा गर्दै मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेको जानकारी दिइन्।

    नेकपा एमालेको समर्थनमा नेपाली कम्युनिस्ट पार्टीका प्रदेश संसदीय दलका नेता शाही गत १२ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्त भएको २३औँ दिनमा उनले प्रदेशसभाबाट विश्वासको मत लिएका हुन्।

    तीन सातासम्म एक्लै मुख्यमन्त्री

    मुख्यमन्त्री शाहीले नियुक्त भएको तीन सातासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि उनी कर्णालीमा लामो समयसम्म एक्लै सरकार सञ्चालन गर्ने मुख्यमन्त्रीका रूपमा देखिएका छन्।

    यस विषयलाई लिएर नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले व्यङ्ग्यात्मक शैलीमा मुख्यमन्त्रीलाई ‘बधाई’ दिएका छन्। उनले कर्णाली प्रदेशसभाले रेकर्ड राख्ने क्रममै अर्को नयाँ रेकर्ड थपिएको टिप्पणी गरे।

    “इतिहासमै पहिलो रेकर्ड राख्न सफल भएकोमा मुख्यमन्त्रीज्यूलाई बधाई छ,” उनले भने। मुख्यमन्त्री नियुक्त भएदेखि नै मन्त्रालय बाँडफाँडमा सत्ता साझेदार दल एमालेसँग सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको थियो।

    मन्त्रालय बाँडफाँडमा सहमति

    विश्वासको मत लिनुअघि बुधबार दिउँसो सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ। दुई दलका प्रदेश संसदीय दलबीच ६ बुँदे सहमति भएपछि अब मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको हो।

    नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार सहमतिअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को जिम्मेवारीसहित नेकपाले तीन मन्त्रालय र एमालेले पनि मन्त्रालय पाउने सहमति भएको छ।

    “मन्त्रालयमा भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो। आज दुई दलबीच त्यो पनि टुंगो लागेको छ,” जिसीले भने, “आजै बेलुकासम्म केही मन्त्री नियुक्त हुनुहुन्छ।”

    कांग्रेसलाई पनि विश्वासको मत दिन आग्रह

    मुख्यमन्त्री शाहीले सरकार गठनको पक्षमा रहेको नेपाली कांग्रेससहित सबै दललाई विश्वासको मत दिन आग्रह गरेका थिए। उनले सत्ता समीकरण र अंकगणितभन्दा माथि उठेर कर्णालीको गरिबी, अशिक्षा तथा भौगोलिक विकटतालाई मुख्य चुनौतीका रूपमा लिएर सरकारलाई सहयोग गर्न अपिल गरेका थिए।

    विश्वासको मतसँगै मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई तत्कालका लागि राजनीतिक स्थायित्व प्राप्त भएको छ। अब सत्ता साझेदार दलबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार र सरकारको कार्यदिशा कार्यान्वयनतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु