२०८३ अषाढ ११, बिहिबार | Thu, 25, Jun, 2026

कुपोषण अन्त्य अभियानमा पाँचखाल : पोषण मैत्री शासनका लागि अभिमुखीकरण


१९५१ पाठक संख्या
  • २०८३ अषाढ ११, बिहिबार मा प्रकाशित ३ घण्टा अघि
  • काभ्रेपलाञ्चोक, असार ११ । बालबालिका, किशोरी, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्थालाई सुधार गर्दै स्वस्थ र सक्षम नागरिक निर्माण गर्ने उद्देश्यले पाँचखाल नगरपालिकाले पोषण मैत्री स्थानीय शासन प्रवर्द्धन कार्यक्रमलाई तीव्रता दिएको छ। सोही अभियानअन्तर्गत आज नगरपालिका स्तरीय निर्देशन समिति तथा स्वास्थ्यकर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

    पाँचखाल नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरका जनप्रतिनिधि, शाखा प्रमुख, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता नगरपालिकाकी कार्यवाहक अध्यक्ष सूर्यमाया दनुवारले गर्नुभएको थियो भने जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष दनुवारले कुपोषण न्यूनीकरण केवल स्वास्थ्य क्षेत्रको विषय नभई समग्र सामाजिक विकाससँग जोडिएको मुद्दा भएको बताउनुभयो। उहाँले बालबालिकाको पोषण अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकार, स्वास्थ्य संस्था, विद्यालय, अभिभावक तथा समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। “भविष्यका कर्णाधारलाई कुपोषणको सिकार हुन दिनु हुँदैन, स्वस्थ र सक्षम पुस्ता निर्माण गर्नु हाम्रो साझा दायित्व हो,” उहाँले भन्नुभयो।

    विशेष अतिथि श्रेष्ठले पोषण मैत्री स्थानीय शासनको अवधारणा, यसको आवश्यकता तथा स्थानीय तहको भूमिकाबारे प्रकाश पार्दै पोषण सुधारका कार्यक्रमहरूलाई परिणाममुखी बनाउन बहुक्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले स्थानीय तहले सञ्चालन गरिरहेका पोषणसम्बन्धी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा पाँचखाल नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख कोपिला कार्की तथा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले पोषण मैत्री स्थानीय शासन प्रवर्द्धन कार्यक्रमको उद्देश्य, कार्यान्वयन प्रक्रिया, सूचकहरू तथा स्थानीय तहले पूरा गर्नुपर्ने जिम्मेवारीका विषयमा विस्तृत प्रस्तुति दिनुभएको थियो। प्रस्तुतिमा पोषण सुधारका लागि स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, कृषि तथा सामाजिक विकास क्षेत्रबीच समन्वयको आवश्यकता औँल्याइएको थियो।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, विभिन्न शाखाका प्रमुखहरू, वडा अध्यक्षहरू, स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

    अभिमुखीकरण कार्यक्रमले नगरभित्र पोषणसम्बन्धी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। सहभागीहरूले पोषण सुधारका अभियानलाई वडा तहसम्म विस्तार गर्दै समुदायमा जनचेतना अभिवृद्धि गर्नुपर्ने सुझाव दिएका थिए।

    पाँचखाल नगरपालिकाले पछिल्ला वर्षहरूमा स्वास्थ्य तथा पोषणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। पोषण मैत्री स्थानीय शासनको अवधारणालाई व्यवहारमा उतार्दै नगरलाई स्वस्थ, सक्षम र समुन्नत समुदाय निर्माणतर्फ अग्रसर गराउने नगरपालिकाको लक्ष्य रहेको जनाइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार