काठमाडौं, १४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो निर्वाचनको परिणामलाई आधार बनाएर नेपालमा कम्युनिस्ट आन्दोलन समाप्त भएको निष्कर्ष निकाल्न नहुने बताएकी छन्। उनले जनताले दिएको सन्देशलाई आत्मसात् गर्दै समयानुकूल वैचारिक समीक्षा र रूपान्तरणमार्फत कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याएकी छन्।
मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै भण्डारीले पछिल्लो निर्वाचनले कम्युनिस्ट दलहरूलाई गम्भीर वैचारिक बहस र आत्मसमीक्षातर्फ अग्रसर गराएको बताइन्।
उनले भनिन्, “निर्वाचनले कम्युनिस्ट दलहरूलाई गम्भीर रूपमा वैचारिक बहस गर्न अपरिहार्य बनाएको छ। एउटा निर्वाचनको मतपरिणामकै आधारमा कम्युनिस्ट आन्दोलनबारे अन्तिम निष्कर्ष निकाल्न हतार गर्नु हुँदैन। तर जनताले व्यक्त गरेका सन्देशलाई स्वीकार गर्नु आजको आवश्यकता हो।”
भण्डारीले बदलिँदो पुस्ताको सोच, अपेक्षा र राष्ट्रिय आवश्यकताअनुसार कम्युनिस्ट आन्दोलनले आफ्नो नीति, नेतृत्व र कार्यशैलीलाई निरन्तर परिमार्जन गर्नुपर्ने धारणा व्यक्त गरिन्। विगतका उपलब्धिको स्मरण मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले भविष्यप्रति उत्तरदायी बन्न आत्मसमीक्षा र जनतासँगको जीवन्त सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइन्।
उनका अनुसार जनताको बदलिँदो आकांक्षालाई केन्द्रमा राखेर नीति तथा नेतृत्व विकास गर्न सके मात्र कम्युनिस्ट आन्दोलनले नयाँ ऊर्जा प्राप्त गर्न सक्छ।कार्यक्रममा भण्डारीले मुलुकको शासकीय प्रणालीबारे पनि आफ्नो धारणा राख्दै नेपालका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उपयुक्त विकल्प नभएको स्पष्ट पारिन्।
उनले भनिन्, “प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो देशका लागि उपयुक्त हुँदैन भन्ने मेरो निष्कर्ष छ।” भण्डारीको भनाइलाई कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, आगामी दिशा र नेपालको राजनीतिक प्रणालीबारे गरिएको महत्वपूर्ण वैचारिक टिप्पणीका रूपमा हेरिएको छ।




प्रतिक्रिया दिनुहोस