काठमाडौं, १४ असार । काठमाडौं महानगरपालिका–१७, नयाँबजारस्थित बाल उद्यान सामुदायिक सेवा समितिले आफ्नो क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। समितिले सार्वजनिक गरेको विज्ञप्तिमार्फत खुला पार्क संरक्षण, सुरक्षा व्यवस्था, सरसफाइ, हरियाली प्रवर्द्धन तथा सामाजिक गतिविधिलाई प्रभावकारी बनाउन तत्काल पहल गर्न आग्रह गरेको हो।
समितिका अनुसार नयाँबजारस्थित खुला पार्क आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। पार्कमा दैनिक रूपमा उल्लेख्य संख्यामा मानिसको आवागमन हुने भएकाले यसको संरक्षण, व्यवस्थापन र सुरक्षामा वडा कार्यालय तथा महानगरले थप चासो दिनुपर्ने आवश्यकता औंल्याइएको छ।
विज्ञप्तिमा वडा नम्बर १६ र १७ क्षेत्रमा पछिल्लो समय महिलाको सिक्री चोर्ने, सर्वसाधारणमाथि आक्रमण गर्ने तथा अन्य आपराधिक गतिविधि बढ्दै गएको भन्दै सुरक्षा निकायसँग प्रभावकारी गस्ती र निगरानी बढाउन माग गरिएको छ। समितिले विगत ६–७ वर्षदेखि स्थानीय स्तरमा सामाजिक सुरक्षाका विभिन्न अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै महानगर र वडाबाट अपेक्षित सहयोग नपाएको गुनासो पनि गरेको छ।
त्यसैगरी वातावरण संरक्षणका लागि वृक्षारोपण अभियान सञ्चालन गरिएको भए पनि रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा सम्बन्धित निकायको सहयोग आवश्यक रहेको समितिको भनाइ छ। फुल तथा फलफूलका बिरुवा रोपिए पनि उचित संरक्षण नहुँदा हरियाली अभियान प्रभावित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
समितिले आफ्नै स्रोत र श्रमबाट समाजमा हुने दुर्घटना, लुटपाट, बालबालिका तथा महिलासम्बन्धी सुरक्षाका विषयमा नेपाल प्रहरीसँग समन्वय गरी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएको छ। साथै वडा १५, १६ र १७ का सडक तथा गल्लीहरूको सरसफाइ अभियानमा पनि महानगरसँग सहकार्य गर्दै आएको दाबी गरिएको छ।
विज्ञप्तिमा खानेपानी, सामुदायिक भवन निर्माण, खुला पार्कमा फाउन्टेन जडान, सार्वजनिक शौचालय निर्माण तथा स्थानीय पूर्वाधार विकासका विषयमा प्रधानमन्त्री, मन्त्री तथा महानगर नेतृत्वसँग पटक–पटक पहल गरिएको उल्लेख छ। यस्ता योजनाहरू शीघ्र कार्यान्वयन गर्न सम्बन्धित निकायलाई समितिले आग्रह गरेको छ।
समितिले सार्वजनिक स्थलहरूमा हुने अव्यवस्थित गतिविधि नियन्त्रण, धार्मिक तथा सामाजिक सम्पदाको संरक्षण, सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्न तथा नयाँबजार क्षेत्रको समग्र विकासमा महानगर, वडा कार्यालय र सरोकारवाला निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
समितिले स्थानीयवासीको शान्ति, सुरक्षा, स्वच्छ वातावरण र व्यवस्थित सहरी विकासका लागि आफ्नो अभियान निरन्तर रहने जनाउँदै सम्बन्धित निकायलाई जनचासोका विषयमा शीघ्र पहल गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस