१४ असार, रौतहट। रौतहटको गढीमाई नगरपालिका–१ स्थित बागमती नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको दुःखद मृत्यु भएको छ।
स्थानीय समनपुर–हरैया घाटमा आइतबार नुहाउन गएका भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव र सुरेश यादवका करिब ८ वर्षीय छोरा आदित्य यादव नदीमा डुबेर बेपत्ता भएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी निरीक्षक मुना पासवानको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी, स्थानीय बासिन्दा तथा अन्य सरोकारवालाको सहयोगमा तत्काल खोजी अभियान सञ्चालन गरिएको थियो।
खोजतलासका क्रममा घटनास्थलबाट करिब ५० मिटर दक्षिणतर्फ बागमती नदीभित्रै दुवै बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घटनापछि स्थानीय समुदाय शोकमा डुबेको छ। प्रहरीले घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। वर्षायाममा नदीको बहाव बढ्ने भएकाले बालबालिकालाई नदी तथा अन्य जलाशयमा नुहाउन वा खेल्न जाँदा विशेष सतर्कता अपनाउन प्रहरीले अभिभावकसँग आग्रह गरेको छ।




प्रतिक्रिया दिनुहोस