२०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन जनाको मृत्यु, चार घाइते र तीन बेपत्ता


९८९ पाठक संख्या
  • २०८३ कार्तिक २, आईतबार मा प्रकाशित १ घण्टा अघि
  • काठमाडौं, १ कात्तिक। सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। दुर्घटनामा परेका अन्य तीन जना बेपत्ता भएका छन्। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २:३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो।

    सिन्धुली प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृतकहरूको पहिचान भने खुल्न बाँकी रहेको छ।

    दुर्घटनामा घाइते भएका चार जनालाई उद्धार गरी सुरुमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।

    घाइते हुनेमा जिप चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन्।

    चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता भएका छन्। उनीहरूको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ।

    इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना प्रहरी तथा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली घटनास्थलमा खटिएको छ। संयुक्त सुरक्षा टोलीले सुनकोशी नदीमा बेपत्ताहरूको खोजी गरिरहेको छ।

    दुर्घटना कसरी भयो भन्नेबारे खुल्न सकेको छैन। प्रहरीले घटनाको थप विवरण संकलन गरिरहेको जनाएको छ। बेपत्ताहरूको खोजी तथा उद्धार कार्यको प्रगति र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑