२०८३ मंसिर ९, बुधबार | Wed, 25, Nov, 2026

काभ्रेमा बेहोस बनाई लुटपाटको शृंखला : चार पक्राउ


११८९ पाठक संख्या
  • २०८३ मंसिर ९, बुधबार मा प्रकाशित १६ मिनेट अघि
  • चार घटनामा नगद, सुनका गरगहना र मोबाइल चोरी; सुन खरिद गर्ने दुई व्यवसायीसमेत प्रहरी नियन्त्रणमा

    काभ्रेपलाञ्चोक । नसालु पदार्थ मिसाएर खानेकुरा तथा पेय पदार्थ खुवाई व्यक्तिलाई बेहोस बनाएर श्रृंखलाबद्ध लुटपाट गर्ने र लुटिएका सुनका गरगहना खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा फरार चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मंसिर ९ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेकालाई अनुसन्धान पूरा गरी अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकमा पेस गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा चोरी तथा लुटपाटमा संलग्न रहेको आरोप लागेका ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ घर भई हाल बनेपा नगरपालिका–५ बस्ने ५० वर्षीया संगिता तामाङ (कार्की) र धुलिखेल नगरपालिका–१ निवासी ३८ वर्षीय बिरध्वज तामाङ रहेका छन्। संगितालाई बनेपाको चारदोबाटोबाट पक्राउ गरिएको हो भने बिरध्वज चोरी मुद्दामा प्रहरी वृत्त बौद्धबाट धरौटीमा छुटेपछि बनेपामा दाखिला गरिएको प्रहरीले जनाएको छ।

    त्यस्तै, लुटिएका सुनका गरगहना खरिद गरेको आरोपमा दोलखाको बिगु गाउँपालिका–४ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ बस्ने ४६ वर्षीय नवराज घिमिरे बि.क. र नमोबुद्ध नगरपालिका–१ घर भई बनेपा नगरपालिका–७ बस्ने ३२ वर्षीय प्रविन सुनुवार पक्राउ परेका छन्। नवराजलाई भक्तपुरबाट र प्रविनलाई काभ्रेको खड्पुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    चार ठाउँमा बेहोस बनाएर लुटपाट

    प्रहरीका अनुसार संगिता र बिरध्वजको संलग्नतामा काभ्रेका विभिन्न स्थानमा चारवटा लुटपाटका घटना भएका थिए। उनीहरूले पीडितलाई फकाएर खानेकुरा तथा पेय पदार्थमा नसालु पदार्थ मिसाई खुवाउने र बेहोस भएपछि नगद तथा गरगहना लुट्ने गरेको अनुसन्धानबाट खुलेको छ।

    बनेपा नगरपालिका–६ मा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ निवासी ५४ वर्षीय गंगा बहादुर गुरुङलाई फ्रुटीमा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाइएको थियो। त्यसपछि उनको साथबाट चार हजार रुपैयाँ नगद र चारवटा राडी लुटिएको थियो। बेहोस अवस्थामा भेटिएका गुरुङको शिर मेमोरियल अस्पताल बनेपाको आईसीयूमा चार दिन उपचारपछि डिस्चार्ज गरिएको थियो।

    यस्तै, खानिखोला गाउँपालिका–४ घर भई बनेपा नगरपालिका–४ बस्ने ७० वर्षीया हिरामाया जिम्बा र उनका ७४ वर्षीय श्रीमान् हस्त बहादुर जिम्बालाई आफ्नै घरमा दूधमा नसालु पदार्थ मिसाएर खुवाइएको थियो। दुवैलाई बेहोस बनाएपछि हिरामायाको कानमा लगाउने सुनको रिङ दुई थान र सुनको तिलहरी एक थान लुटिएको प्रहरीले जनाएको छ। हिरामायाको शिर मेमोरियल अस्पताल र अल्का अस्पताल जावलाखेलमा सात दिन तथा हस्त बहादुरको शिर मेमोरियल अस्पतालमा एक दिन उपचार भएको थियो।

    बनेपा नगरपालिका–३ मा पनौती नगरपालिका–४ निवासी ५१ वर्षीय हेम बहादुर बस्नेतलाई लेमन जुसमा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाइएको थियो। उनको सुनको सिक्री, मोबाइल र सुनको औँठी लुटिएको प्रहरीले जनाएको छ।

    चौथो घटनामा नमोबुद्ध नगरपालिका–११ निवासी ६७ वर्षीया पञ्च माया तामाङलाई घरमै खानेकुरामा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाइएको थियो। त्यसपछि कानमा लगाएको करिब एक तोलाको सुनको रिङ लुटेर लगिएको प्रहरीले जनाएको छ।

    लुटिएको सुन बिलबिनै खरिद

    पीडितसँगको समन्वय तथा प्राप्त प्रमाणका आधारमा लुटिएका गरगहना खरिद गर्ने सुनचाँदी व्यवसायीको संलग्नतासमेत खुलेको प्रहरीले जनाएको छ।

    गंगा बहादुर गुरुङ र हिरामाया जिम्बाका गरगहना भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ चारदोबाटोस्थित जय शिव शक्ति सुनचाँदी ज्वेलर्सका सञ्चालक नवराज घिमिरे बि.क.ले बिल तथा रसिदबिना खरिद गरेको अनुसन्धानबाट खुलेको छ। त्यस्तै, पञ्च माया तामाङको गरगहना धुलिखेल नगरपालिका–५ स्थित गणेश सुनचाँदी पसलका सञ्चालक प्रविन सुनुवारले बिलबिनै खरिद गरेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार नवराजले यसअघि पनि चोरीको सुन बिलबिना खरिद गरी स्वरूप परिवर्तन गरेको कसुरमा पक्राउ परेका थिए। उक्त मुद्दामा दुईवटा कसुरबापत जनही ६० हजार रुपैयाँका दरले एक लाख २० हजार रुपैयाँ धरौटी बुझाएर तारिखमा रहेका थिए।

    सुन, मोबाइल र अन्य सामग्री बरामद

    प्रहरीले संगिताको साथ तथा कोठाबाट तीन ग्राम सेतो धुलो पदार्थ, घटनामा प्रयोग भएको कालो किप्याड मोबाइल एक थान, भिभो मोबाइल एक थान, राडी, कुर्था, सुरुवाल, ज्याकेट र जुत्तालगायत सामग्री बरामद गरेको छ।

    नवराजको पसलबाट स्वरूप परिवर्तन गरी ढिक्का बनाइएको अवस्थामा १२.२ लाल, ४२.७ लाल, २६.५ लाल र ११.१ लाल सुनजस्तो देखिने धातु बरामद गरिएको छ। प्रविनको पसलबाट सुनजस्तो देखिने ११.६८ ग्रामको कानमा लगाउने रिङ एक जोर बरामद भएको प्रहरीले जनाएको छ।

    संगिता र बिरध्वज काठमाडौंको तिनचुलीस्थित कान्छी तामाङलाई समेत नसालु पदार्थ खुवाई बेहोस बनाएर सुन तथा नगद चोरी गरी फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध यसअघि चोरी तथा अभद्र व्यवहारका मुद्दा र धरौटी तथा जरिवानासम्बन्धी अभिलेखसमेत रहेको प्रहरीले जनाएको छ।

    पक्राउ परेकाहरूले अन्य स्थानमा समेत यस्तै प्रकृतिका अपराध गरेको हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। यस प्रकारको घटनाबाट पीडित अन्य व्यक्ति भए जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा सम्पर्क गरी जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑