२०८३ कार्तिक ५, बुधबार | Wed, 21, Oct, 2026

धर्म फरक, आत्मीयता एउटै : नेपालगन्जमा हिन्दु–मुस्लिमले साटे पर्वको खुसी


७२९ पाठक संख्या
  • २०८३ कार्तिक ५, बुधबार मा प्रकाशित ३ घण्टा अघि
  • नेपालगन्ज, कात्तिक ४ गते । धार्मिक सद्भाव र सामाजिक एकताको सहरका रूपमा परिचित नेपालगन्जमा यस वर्षको बडादसैंले हिन्दु–मुस्लिमबीचको आपसी प्रेम, भाइचारा र सहिष्णुतालाई थप प्रगाढ बनाएको छ। दसैंको अवसरमा मुस्लिम समुदायका अगुवाहरूले हिन्दु समुदायका मान्यजनबाट टीका–जमरा लगाएर आशीर्वाद लिँदै धार्मिक सद्भावको अनुपम उदाहरण प्रस्तुत गरेका छन्।

    मुस्लिम समुदायका चाडपर्वमा हिन्दुहरू सहभागी हुने र हिन्दु समुदायका चाडपर्वमा मुस्लिमहरू रमाउने पुरानो परम्परालाई निरन्तरता दिँदै स्थानीय मुस्लिम अगुवाहरूले बुधबार दसैंको टीका–जमरा ग्रहण गरेका हुन्। दुवै समुदायले एकअर्काका चाडपर्वलाई सम्मान गर्दै सँगै मनाउने परम्पराले नेपालगन्जको सामाजिक एकता र सांस्कृतिक विविधतालाई उजागर गरेको छ।

    स्थानीय मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले हिन्दु समुदायका मान्यजनबाट दसैंको टीका–जमरा लगाएर पर्व मनाउनुभएको छ। उहाँले दसैं, तिहार, रक्षाबन्धन, होलीलगायतका हिन्दु समुदायका चाडपर्व आपसी सद्भावका साथ मनाउँदै आएको बताउनुभयो।

    त्यसैगरी, मुस्लिम समुदायका ईद, बकराईद, मोहर्रम तथा मोहम्मद डेका अवसरमा हिन्दु समुदायका मान्यजनलाई निमन्त्रणा गरेर सँगै खुसी साटासाट गर्ने गरिएको मन्सुरीले बताउनुभयो। नेपालगन्जमा हिन्दु र मुस्लिम समुदायले वर्षौंदेखि एकअर्काका चाडपर्वमा सहभागी हुँदै आएको उहाँको भनाइ छ।

    मुस्लिम इत्तेहाद संगठन बाँकेका अध्यक्ष तथा पूर्ववडाध्यक्ष सफिक नद्दाफले पनि हिन्दु समुदायका आफन्त र मान्यजनबाट दसैंको टीका–जमरा ग्रहण गर्नुभयो। उहाँले आफूभन्दा सानालाई टीका लगाएर आशीर्वादसमेत दिनुभयो।

    दुवै समुदायका चाडपर्व सँगै मनाउँदै आएको उल्लेख गर्दै नद्दाफले आपसी मेलमिलाप र सद्भावका साथ पर्व मनाउँदा विशेष खुसी मिल्ने बताउनुभयो। हिन्दुहरू मुस्लिम समुदायका चाडपर्वमा सहभागी हुने र मुस्लिमहरू हिन्दुका पर्वमा रमाउने परम्परा नेपालगन्जको पहिचान नै बनिसकेको उहाँको भनाइ छ।

    यसैगरी, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ र मुस्लिम अगुवा हाजी रहमान मियाँले पनि हिन्दु समुदायका मान्यजनबाट दसैंको टीका–जमरा लगाएर आशीर्वाद लिनुभएको छ। उहाँहरूले सबै धर्म र समुदायका चाडपर्वलाई सम्मान गर्दै आपसी सद्भावका साथ मनाउँदै आएको बताउनुभयो।

    हिन्दु समुदायका अगुवा कृष्णप्रसाद श्रेष्ठले पनि नेपालगन्जमा एकअर्काका चाडपर्व मिलेर मनाउने परम्परा निकै सकारात्मक रहेको बताउनुभयो। आफू पनि मुस्लिम समुदायका पर्वका अवसरमा उनीहरूको घरमै पुगेर खुसी साटासाट गर्ने गरेको उहाँले उल्लेख गर्नुभयो।

    धार्मिक सद्भावको यो परम्परा सर्वसाधारणमा मात्र सीमित छैन, धार्मिक अगुवाहरूले समेत यसलाई निरन्तरता दिँदै आएका छन्। मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीलाई बुधबार बिहानै फोन गरेर दसैंको शुभकामना दिनुभयो। शारीरिक अशक्तताका कारण यसपटक प्रत्यक्ष भेटेर शुभकामना दिन नसके पनि फोनमार्फत शुभकामना व्यक्त गरेको उहाँले बताउनुभयो।

    नेपालगन्जका दुवै समुदायका धार्मिक गुरुहरूले पनि विगत केही वर्षदेखि एकअर्कालाई अंकमाल गर्दै दसैं, ईदलगायतका चाडपर्वमा शुभकामना आदानप्रदान गर्दै आउनुभएको छ।

    धार्मिक तथा सांस्कृतिक विविधताबीचको एकता नेपालगन्जको विशिष्ट पहिचान बनेको छ। एकअर्काको आस्था, संस्कृति र परम्परालाई सम्मान गर्दै चाडपर्व मनाउने यहाँको अभ्यासले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गरिरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑