विराटनगर । पर्यटक भिसाको दुरुपयोग गर्दै मोरङमा धार्मिक प्रचार तथा पास्टर उत्पादनसम्बन्धी तालिम सञ्चालन गरेको आरोपमा २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ।
अध्यागमन विभागले उनीहरूको भिसा रद्द गरी जनही ५० हजार रुपैयाँ जरिवाना असुल्नुका साथै तीन वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको हो।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित ‘नेपाल न्यू कोभेनेन्ट कलेज’मा गैरकानुनी रूपमा धार्मिक तालिम, प्रशिक्षण तथा दीक्षान्त समारोह सञ्चालन भइरहेको सूचनाका आधारमा स्थानीय प्रशासन र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रशासन कार्यालय मोरङले असोज २३ गते कारबाहीका लागि उनीहरूलाई अध्यागमन विभागमा उपस्थित गराएको थियो। अनुसन्धानका क्रममा पर्यटक भिसामा निषेधित धार्मिक गतिविधिमा संलग्न भएको पाइएपछि विभागले निष्कासनको निर्णय गरेको जनाएको छ।
निष्कासित हुनेमा दक्षिण कोरियास्थित ‘लभ नेपाल मिसन’का प्रमुख डा. पार्क गुइ ह्वानसहित २४ जना छन्। उनीहरू असोज २० र २१ गते दुई समूहमा विराटनगर आएका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त कलेजमा ‘बाइबल एकेडेमी’का नाममा विभिन्न तहका धार्मिक पाठ्यक्रम सञ्चालन हुँदै आएका थिए। संस्थामा ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बताइएको छ।
नेपालको अध्यागमन कानुनअनुसार पर्यटक भिसामा आएका विदेशीले भिसाको उद्देश्यविपरीत धार्मिक प्रचार, तालिम तथा अन्य निषेधित गतिविधि गर्न पाउँदैनन्।


प्रतिक्रिया दिनुहोस