धनगढी, कात्तिक ४ गते । चाडपर्वको समयमा शान्ति, सुरक्षा कायम गर्न खटिएका कैलालीका प्रहरी कर्मचारीले ड्युटीमै दसैं मनाएका छन् । दसैंको बिदा नपाएर कार्यक्षेत्रमै खटिएका जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी कर्मचारीले टीका र जमरा लगाएर दसैं मनाएका हुन् ।
चाडपर्वका बेला नागरिकको सुरक्षा सुनिश्चित गर्न जिम्मेवारीमा खटिएका प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले टीका र जमरा लगाइदिनुभएको थियो । उहाँले मातहतका प्रहरी कर्मचारीलाई दसैंको टीका तथा जमरा लगाएर शुभकामना र आशीर्वाद दिँदै चाडपर्वको खुसी साटासाट गर्नुभएको थियो ।
आफ्नो परिवार र आफन्तसँग बसेर दसैं मनाउने अवसर नपाए पनि सहकर्मीबीच टीका र जमरा लगाएर पर्व मनाउन पाउँदा प्रहरी कर्मचारीले कार्यस्थलमै दसैंको उल्लास अनुभव गरेका छन् । नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै जिम्मेवारी निर्वाह गरिरहेका प्रहरीका लागि कार्यालयमै गरिएको टीका तथा जमरा कार्यक्रमले आपसी सद्भाव र आत्मीयता अभिवृद्धि गर्न सहयोग पुर्याएको छ ।
चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको विशेष सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरीका टोली शान्ति, सुरक्षा र अमनचयन कायम गर्न दिनरात खटिएका छन् । चाडपर्वका समयमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले सुरक्षा निगरानी बढाउनुका साथै आपत्विपत्मा परेका नागरिकलाई आवश्यक सहयोगसमेत गर्दै आएको छ ।
प्रहरीको निरन्तर सक्रियताका कारण आम नागरिकले सुरक्षित वातावरणमा दसैं मनाउन पाएका छन् । आफूले चाडपर्व मनाउनेभन्दा पनि नागरिकको सुरक्षा र सेवामा समर्पित प्रहरी कर्मचारीको योगदानले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र उल्लासमय बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।


प्रतिक्रिया दिनुहोस