काभ्रेपलाञ्चोक । नेपाली कम्युनिष्ट पार्टी काभ्रेपलाञ्चोक जिल्ला समितिको आयोजनामा एकता बैठक सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै संगठनमा युवाको ५० प्रतिशत सहभागिता सुनिश्चित गर्दै अघि बढ्ने बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले भदौ २३ गतेदेखि भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाक्रम र भदौ २६ गतेको अवस्थालाई स्मरण गर्दै रातभरको छलफलबाट गणतन्त्रको संरक्षण गर्न सफल भएको बताए।
उनले मुलुकको हितका लागि विभिन्न कम्युनिष्ट पार्टीसँग कार्यगत एकता गर्दै अघि बढिरहेको उल्लेख गर्दै पछिल्ला राजनीतिक गतिविधिलाई नेपाली जनताले नजिकबाट नियालिरहेको बताए। पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको दाबी गर्दै दाहालले मधेश मूलका नागरिकसमेत पार्टीसँग जोडिँदै गएको बताए।
कार्यक्रमका विशेष अतिथि पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपाली कम्युनिष्ट पार्टी कसैको दास नभएको बताए। विदेशी हस्तक्षेपविरुद्ध नेपाली पुर्खाले देखाएको बाटो र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने जिम्मेवारी पार्टीको काँधमा रहेको उनको भनाइ थियो।
नेपालले नेपाल र नेपाली जनताको हितका लागि आफूहरू कसैको दास बन्न नसक्ने बताउँदै भने, ‘नेपाली जनता कसैका दास होइनन्, मालिक हुन्। हामी जनतालाई मालिक बनाएरै छाड्छौँ।’
बैठकमा बागमती प्रदेश इञ्चार्ज गंगाबहादुर तुलाधर, बागमती प्रदेश संयोजक तथा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री, जिल्ला इञ्चार्ज टोकबहादुर वाइबा, केन्द्रीय सदस्य सूर्यमान दोङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
जिल्ला समिति काभ्रेपलाञ्चोकका संयोजक भोला अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसंयोजक दैवलाल घिसिङले सञ्चालन गरेका थिए भने सहसंयोजक गोकुल गौतमले स्वागत मन्तव्य दिएका थिए।
आयोजकका अनुसार कार्यक्रममा जिल्ला समिति, नगर तथा गाउँ समिति, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र विभिन्न भ्रातृ संगठनका प्रतिनिधिसहित करिब १ हजार ५ सय जनाको सहभागिता थियो। पछिल्लो समयको वर्षाका कारण ग्रामीण सडकमा यातायात सञ्चालनमा समस्या भएकाले अपेक्षाभन्दा केही कम सहभागिता भएको आयोजक पक्षका मणिराज गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस