२०८३ आश्विन २२, बिहिबार | Thu, 08, Oct, 2026

कागजमा होइन, किसानको खेतमै सुधार देखिनुपर्छ : सांसद कार्की


८५९ पाठक संख्या
  • २०८३ आश्विन २२, बिहिबार मा प्रकाशित ७ घण्टा अघि
  • काभ्रेपलाञ्चोक, २२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसद्मा बन्ने नीति र कानुनको प्रभाव कागजमा सीमित नभई किसानको खेतबारी र नागरिकको दैनिक जीवनमा देखिनुपर्ने बताएका छन् ।

    रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत पाँचखालमा आयोजित बृहत् अन्तरक्रियामा बोल्दै सांसद कार्कीले देशमा परिवर्तनको आधार स्थानीय तहबाटै निर्माण गर्नुपर्ने बताए । संसद्मा हुने नीतिगत सुधारको प्रत्यक्ष अनुभूति गाउँ–गाउँ र खेत–खेतसम्म पुग्नुपर्ने उनको भनाइ थियो ।

    कृषि क्षेत्रको समस्या समाधानका लागि कागजी तथ्यांकभन्दा किसानको खेतमा मल, बीउ र आवश्यक सेवा पुग्नु महत्वपूर्ण रहेको कार्कीले बताए । ‘मल आयात भयो’ भन्ने तथ्यांकले मात्र किसानको समस्या समाधान नहुने भन्दै उनले परिणाममुखी सुधारमा जोड दिए ।

    कार्यक्रममा स्थानीयवासीले पाँचखाल क्षेत्रमा देखिएका कृषि, शिक्षा, स्वास्थ्य, सडक, पर्यटन तथा व्यापारसँग सम्बन्धित समस्या सांसद कार्कीसमक्ष राखेका थिए । किसानले उत्पादनका आधारमा अनुदान पाउनुपर्ने, रासायनिक मल वितरण प्रणाली सुधार गर्नुपर्ने र कृषिमा बिचौलियाको भूमिका अन्त्य गर्नुपर्ने माग सहभागीहरूले राखे ।

    स्थानीयवासीले बाँदरको बढ्दो उपद्रवका कारण गाउँबाट बसाइँसराइ बढिरहेको भन्दै यसको वैज्ञानिक समाधान खोज्न आग्रह गरेका थिए । गुठी तथा सार्वजनिक जग्गासम्बन्धी समस्या, सार्वजनिक जग्गा अतिक्रमण, विकास निर्माणमा भइरहेको ढिलाइ र एउटै राजमार्गमा सडक सीमासम्बन्धी फरक–फरक मापदण्ड लागू भएको विषयमा समेत ध्यानाकर्षण गराइएको थियो ।

    पाँचखालमा सञ्चालन हुने भनिएको विशेष आर्थिक क्षेत्र (सेज) शीघ्र सञ्चालनमा ल्याउनुपर्ने, राष्ट्रियस्तरको खेलमैदान निर्माण गर्नुपर्ने तथा पलाञ्चोक भगवती मन्दिरको व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने माग पनि सहभागीहरूले राखेका थिए ।

    शिक्षा क्षेत्रमा कर्मचारी तथा शिक्षकका बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययन गराउने व्यवस्था गर्नुपर्ने, स्वास्थ्य र शिक्षा सर्वसुलभ तथा निःशुल्क बनाउनुपर्ने र स्थानीय तहले वास्तविक आवश्यकताका आधारमा अनुदान वितरण गर्नुपर्ने सुझावसमेत दिइएको थियो ।

    सहभागीहरूले कर्मचारीतन्त्रमा सुधार नगरी सुशासन कायम हुन नसक्ने, न्यायालयमा बिचौलियाको प्रभाव नियन्त्रण गर्नुपर्ने र जनप्रतिनिधि नागरिकले खोजेका बेला सहज रूपमा भेटिने व्यवस्था हुनुपर्नेमा जोड दिए ।

    जवाफमा सांसद कार्कीले न्यायालय, कर्मचारीतन्त्र तथा सार्वजनिक निकायलाई दलीय प्रभावबाट मुक्त राख्दै सुशासन र सार्वजनिक जवाफदेहिता बलियो बनाउन कानुनी तथा प्रणालीगत सुधार आवश्यक रहेको बताए । सरकारका अध्यादेश तथा विधेयकमाथि संसद् र समितिहरूमा छलफल भइरहेको उल्लेख गर्दै उनले व्यावहारिक कठिनाइ र अस्पष्टता हटाउने गरी कानुन निर्माणमा आफूहरूले जोड दिइरहेको बताए ।

    रास्वपाले स्थानीय नागरिकका समस्या प्रत्यक्ष सुन्ने र समाधानका लागि सम्बन्धित निकायमा दबाब सिर्जना गर्ने उद्देश्यले ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गरिरहेको उनले बताए ।

    कार्यक्रममा सहभागीहरूले संघीय निर्वाचनमा जनताले रास्वपालाई दिएको विश्वासअनुसार आगामी दिनमा जनअपेक्षामुखी काम गर्नुपर्ने बताएका थिए । जनताले अवसर दिएपछि अपेक्षाअनुसार काम गर्न नसके अर्को विकल्प खोज्नुपर्ने अवस्था आउन सक्ने उनीहरूको भनाइ थियो ।

    रास्वपा पाँचखाल नगर सभापति नवीनप्रकाश निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्रीय संयोजक डा. ताराबहादुर कुँवर, जिल्ला सभापति प्रविणकुमार ढकाल, उपसभापति पुण्यमाता घिमिरे, क्षेत्रीय सदस्य एलिसा श्रेष्ठ, रचना थापा, जिल्ला सचिव जिएन सापकोटालगायतको उपस्थिति थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑