काठमाडौं, २३ असोज । काठमाडौंको बुढानीलकण्ठमा अवैध रूपमा सञ्चालित सुन प्रशोधन केन्द्रमा प्रहरीले छापा मार्दा ५४ करोड ६० लाख रुपैयाँभन्दा बढी मूल्यको २१ किलो ७५० ग्राम सुन बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा तीन चिनियाँ नागरिक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालस्थित भाडाको घरमा छापा मारेर सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का र लेसिलो अवस्थामा रहेको सुन बरामद गरेको हो। प्रहरीका अनुसार उक्त घरलाई सुन गाल्ने, विभिन्न आकारमा ढाल्ने र बजारमा आपूर्ति गर्ने केन्द्रका रूपमा प्रयोग गरिएको थियो।
प्रहरीले यस कारबाहीलाई ‘अपरेसन ब्राभो गोल्फ’ नाम दिएको थियो। सुरुमा चार किलो सुनको सूचना पाएर अनुसन्धान थालेको टोलीले छापा मार्दा साढे २१ किलोभन्दा बढी सुन फेला पारेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताएका छन्।
पक्राउ पर्नेमा चीनको ग्वाङडोङ क्षेत्रका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन छन्। प्रहरीले उनीहरूले चीनमा रहेका व्यक्तिको निर्देशनमा नेपालमा सुन प्रशोधन र आपूर्तिको काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।
अनुसन्धानअनुसार चिनियाँ नागरिकले मासिक तीन लाख ३० हजार रुपैयाँ भाडा तिरेर उक्त घर लिएका थिए। घर भाडामा लिने छु क्यान नामका चिनियाँ नागरिक भने पक्राउ परेका छैनन्। उनले घरको चाबी चीनमा रहेका जेन जिया लीलाई दिएको र उनैको निर्देशनमा नेपाल आएका व्यक्तिले कारखाना सञ्चालन गरेको प्रहरीको भनाइ छ।
प्रहरीले घरको कम्पाउन्डमा राखिएको भाडाको कारबाट एक–एक किलोका दुई सुनका बिस्कुटसमेत बरामद गरेको छ। ती बिस्कुट चालक सिटनजिकको बक्समा कागजले बेरेर राखिएको अवस्थामा भेटिएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा चीनको ग्वान्जाओमा रहेका जेन जिया लीले वी–च्याटमार्फत सुन कहाँ पुर्याउने र कसलाई बुझाउने भन्ने निर्देशन दिने गरेको खुलेको छ। नेपालमा सुन ल्याएर प्रशोधन गर्ने र मागअनुसार बजारमा पठाउने काममा पक्राउ परेका व्यक्तिहरू संलग्न रहेको आशंका गरिएको छ।
बरामद सुन हवाई मार्ग हुँदै काठमाडौं ल्याइएको हुनसक्ने प्रहरीको अनुमान छ। पक्राउ परेका तीनै जना हङकङ हुँदै काठमाडौं आएको अध्यागमन अभिलेखमा देखिएको छ। तर सुन कहाँबाट ल्याइएको थियो र यसको अन्तिम गन्तव्य कहाँ थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस