२४ असोज, काठमाडौं । मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। शुक्रबार गएको भूकम्पका कारण राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको छ भने विभिन्न क्षेत्रमा भवन, सडक, पुल र होटलमा क्षति पुगेको छ। भूकम्पपछि शक्तिशाली परकम्पसमेत गएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५६ बजे भूकम्प गएको हो। यसको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको अजुएरो प्रायद्वीपको पितालोसा अरिबा क्षेत्रबाट करिब नौ माइल दक्षिणपश्चिममा थियो।
भूकम्पपछि दिउँसो ४ः२५ बजे गएको परकम्पको प्रारम्भिक तीव्रता ६.९ म्याग्निच्युड मापन गरिएको थियो। भूगर्भविद्हरूले मुख्य भूकम्पपछि आउन सक्ने परकम्पलाई तत्कालको प्रमुख जोखिमका रूपमा औँल्याएका छन्।
भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको तटीय सहर एल भेनाओस्थित एल सिटियो होटल भत्किएको छ। होटल भत्किए पनि मानवीय क्षति नभएको प्रारम्भिक विवरण छ। उक्त क्षेत्रमा केही घरमा चिरा परेको, एउटा पुलमा क्षति पुगेको र विद्युत् आपूर्ति अवरुद्ध भएको बताइएको छ।
पानामाका राष्ट्रिय नागरिक सुरक्षा निकायका अनुसार कोक्ले, लस सान्तोस र पानामा प्रान्तमा बढी क्षति पुगेको छ। सरकारी भवन, चर्चका अग्ला संरचना, होटल, पानी प्रशोधन केन्द्र र सडकसमेत प्रभावित भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य केन्द्रमा लगिएको छ। यद्यपि, समग्र क्षतिको यकिन विवरण सार्वजनिक भइसकेको छैन।
स्थानीय अधिकारीहरूका अनुसार पेनोनोमे सहरमा करिब एक दर्जन संरचना भत्किएका छन् भने अगुआदुल्सेमा छवटा भवनमा उल्लेख्य क्षति पुगेको छ। पेनोनोमेस्थित डोस कोन्टिनेन्टेस होटलको एक भाग भत्किएर पार्किङमा राखिएका गाडीमाथि खसेको दृश्यसमेत सार्वजनिक भएको छ।
कोक्ले प्रान्तका वरिष्ठ प्रहरी अधिकारी जर्ज सान्चेजका अनुसार गभर्नरको कार्यालय र एउटा क्याथेड्रलमा पनि क्षति पुगेको छ।
पेनोनोमेका मेयर बाटिस्टाले पानामाको टेलिभिजन च्यानल टेलिमेट्रोलाई भनेका छन्, “अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको हो।”
भूकम्पको धक्का राजधानी पानामा सिटीसम्म महसुस गरिएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा भवनहरू हल्लिएपछि मानिसहरू सुरक्षाका लागि सडकमा निस्किएको देखिन्छ। करिब २० लाख जनसंख्या रहेको राजधानीका मुख्य सहरी क्षेत्रमा भने ठूलो क्षति नभएको स्थानीय प्रत्यक्षदर्शी र अधिकारीहरूले बताएका छन्।
गगनचुम्बी भवनका लागि परिचित राजधानीमा अग्ला भवन हल्लिँदा छतमा रहेका पौडी पोखरीको पानी सडकमा खसेको दृश्यसमेत सार्वजनिक भएको छ। यसले भूकम्पको धक्का राजधानीसम्म कति शक्तिशाली रूपमा महसुस भयो भन्ने देखाएको छ।
भूकम्पपछि पानामाको प्रमुख टोचुमेन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा अस्थायी रूपमा रोकिएको थियो। सुरक्षाका लागि यात्रुहरूलाई बाहिर निकालिएको विमानस्थल प्रशासनले जनाएको छ। संरचनाको निरीक्षणपछि करिब दुई घण्टामा उडान सेवा पुनः सञ्चालन गरिएको थियो।
अन्तर्राष्ट्रिय समुद्री व्यापारका लागि महत्त्वपूर्ण मानिने पानामा नहरमा भने भूकम्पपछि पनि नियमित रूपमा सञ्चालन भइरहेको नहर प्राधिकरणले जनाएको छ। पानामास्थित अमेरिकी दूतावासले पनि आफ्ना कर्मचारी वा दूतावासमा कार्यरत व्यक्तिहरू घाइते भएको प्रारम्भिक विवरण प्राप्त नभएको जनाएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) की भूकम्पविद् सुसान हफका अनुसार प्रारम्भिक विवरणले यो भूकम्प ठूलो सुनामी निम्त्याउन सक्ने सबडक्शन जोनमा उत्पन्न भएको नदेखाएको बताइएको छ। बरु, भूकम्प जमिनमुनि कम गहिराइमा र मुख्यतः तेर्सो चालका कारण गएको प्रारम्भिक विश्लेषण छ।
उथलो गहिराइमा उत्पन्न हुने भूकम्पको कम्पन केन्द्रबिन्दु नजिकका क्षेत्रमा तीव्र रूपमा महसुस हुन सक्छ। सामान्यतया पृथ्वीको सतहबाट ७० किलोमिटरभन्दा कम गहिराइमा उत्पन्न हुने भूकम्पलाई उथलो भूकम्प (शैलो अर्थक्वेक) भनिन्छ।
भूकम्पको वास्तविक प्रभाव, संरचनागत क्षति र सम्भावित परकम्पको जोखिमबारे थप विवरण आउन बाँकी छ। अधिकारीहरूले क्षतिको मूल्याङ्कन र प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी सङ्कलन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस