
सजिना मैनाली , अस्ट्रेलिया । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले विजयादशमीको अवसरमा अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना व्यक्त गर्दै नेपालमा बाढीबाट प्रभावित नेपालीहरूप्रति ऐक्यबद्धता जनाएका छन्।
अक्टोबर २०२६ मा जारी दशैं विशेष शुभकामना सन्देशमा प्रधानमन्त्री अल्बानिजीले नेपाली समुदायलाई परिवार, साथीभाइ र आफन्तसँग मिलेर दशैं मनाउन शुभकामना दिएका हुन्। यस वर्षको दशैं नेपाल र विश्वभर रहेका नेपाली समुदायका लागि दुःख र शोकका बीच आएको उल्लेख गर्दै उनले बाढीबाट भएको विनाश र त्यसले निम्त्याएको पीडामा नेपाली समुदाय एक्लो नरहेको बताएका छन्।
बाढीबाट प्रभावित परिवारको पीडाप्रति सहानुभूति व्यक्त गर्दै प्रधानमन्त्री अल्बानिजीले राहत, पुनर्स्थापना र पुनर्निर्माणका आगामी महिनाहरूमा पनि अस्ट्रेलिया नेपाली समुदायको साथमा रहने प्रतिबद्धता सन्देशमार्फत व्यक्त गरेका छन्।
दशैंले असत्यमाथि सत्य र खराबीमाथि असलको विजयको सन्देश दिने स्मरण गर्दै उनले यस पर्वले आपसी सद्भाव, करुणा, उदारता र एकताको महत्त्वलाई थप उजागर गर्ने बताएका छन्। कठिन परिस्थितिमा पनि एकअर्काप्रतिको सहयोग र सद्भावबाट शक्ति प्राप्त गर्न सकिने उनको सन्देशमा उल्लेख छ।
प्रधानमन्त्रीले बाढीपीडितका लागि सञ्चालन गरिएका आपत्कालीन राहत अभियानमा सहयोग गर्ने हजारौँ दाताहरूको योगदानको प्रशंसा गरेका छन्। त्यस्तै, बाढीपीडितप्रति ऐक्यबद्धता जनाउन आयोजित श्रद्धाञ्जली सभामा सहभागी परिवारहरूको संवेदनशीलता र सहकार्यको पनि उनले सराहना गरेका छन्।
प्राकृतिक विपत्तिले निम्त्याएको कठिनाइको सामना गर्न सामुदायिक एकता, पारस्परिक सहयोग र मानवीय संवेदना महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले दुःखको घडीमा प्रभावित समुदायलाई साथ दिनु आवश्यक रहेको सन्देश दिएका छन्।
प्रधानमन्त्री अल्बानिजीले यस वर्षको दशैंले सबैमा सान्त्वना, शक्ति र आशीर्वाद प्रदान गरोस् भन्दै असल कार्यको भावना र आपसी एकताले सबैलाई जोडिराख्ने विश्वास व्यक्त गरेका छन्। उनले आफ्नो शुभकामना सन्देशको अन्त्य नेपाली भाषामै ‘विजया दशमीको शुभकामना’ भन्दै गरेका छन्।

प्रतिक्रिया दिनुहोस