काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ एकता बस्तीमा रहेको श्रीकृष्ण मन्दिरको भौतिक संरचना पुनः निर्माणको लागि दानवीरबाट चन्दा सहयोग भएको छ ।
पाँचखालको रमणीय एवं कृषि उर्वरा भूमिको रुपमा परिचित एकता बस्तीमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको शाखा कार्यालय पाँचखालको पहलमा २०६१ सालमा जेठ १ गते स्थापना भएको उक्त ऐतिहासिक मन्दिरको निर्माण कार्यमा थप टेवा मिलोस् भन्ने उद्देश्यले स्थानीय समाजसेवी एवं दानवीर किरण सेडाईको अगुवाईमा आर्थिक सहयोग भएको हो ।
पाँचखाल ६ तिनपिप्ले बजार स्थाई घर भई हाल काठमाडौँ पेप्सीकोला निवासी दानवीर किरण सेडाईले विगत वर्षहरूमा व्यक्तिगत रुपमा भवन निर्माणको लागि सघाउँदै आउनु भएको थियो । स्थानीय नानीकाजी श्रेष्ठको आमा स्वर्गीय रत्नमाया श्रेष्ठले मन्दिर निर्माणको लागि दान गर्नुभएको चार आनामा निर्मित उक्त श्रीकृष्ण मन्दिर भवन निर्माण कार्यमा थप सहयोग गर्ने उद्देश्यले दानवीर सेडाईको अगुवाईमा चन्दा सङ्कलन गरी सङ्कलित रकम श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल शाखा कार्यालय पाँचखालका अध्यक्ष शेर बहादुर श्रेष्ठलाई आज (बुधबार) हस्तान्तरण गरिएको छ ।
दानवीर सेडाईको पहलमा मन्दिर निर्माण कार्यमा सहयोग गर्ने दानवीरहरू राजेन्द्र कुमार सेडाई ११००० । मन्जु सेडाई सिलवाल ११०००। संगिता भट्टराई १११११ । आभाष सेडाई ५१००। र सुप्ररिम कुँवर ५१०० । रहनु भएको छ उहाँहरूबाट सङ्कलित कुल ४३३११ रुपैयाँ चन्दाको लागि पहल गर्ने किरण सेडाई माफर्त हस्तान्तरण गरेको श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल पाँचखाल शाखाको सचिव विजय कुमार थापाले जानकारी गराउनु भयो । सचिव थापाका अनुसार दानवीर किरण सेडाईले विगत वर्षहरूमा गरेको सहयोगको स्मरण गर्दै कदर पत्रबाट सम्मानित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस