काभ्रेपलाञ्चोक । साउन १४ ।सुनसरीको देवानगञ्ज–कप्तानगञ्जदेखि तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको हिंसा, तनाव र अशान्तिप्रति नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सद्भाव र संयमताका लागि सबै पक्षलाई आह्वान गरेको छ।
महासंघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
महासंघले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहेको उल्लेख गर्दै विशेषगरी तराई–मधेश क्षेत्र विभिन्न समुदायबीचको सामाजिक सद्भाव, सहिष्णुता र भाइचाराको केन्द्रका रूपमा परिचित रहेको स्मरण गराएको छ।
विज्ञप्तिमा कुनै पनि बहानामा हुने हिंसा, झडप र द्वन्द्वले कसैको हित नगर्ने उल्लेख गर्दै यस्ता घटनाले सामाजिक सद्भावमा मात्र नभई सर्वसाधारणको दैनिक जनजीवन, उद्योग–व्यापार, लगानी तथा समग्र आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पार्ने चेतावनी दिइएको छ। सामाजिक शान्ति र स्थायित्व नै मुलुकको समृद्धि तथा आर्थिक विकासको आधार भएको महासंघको भनाइ छ।
महासंघले उत्पन्न मतभेद वा असमझदारीको समाधान हिंसा वा उग्र प्रदर्शनबाट नभई संवाद, वार्ता र आपसी समझदारीबाट मात्रै सम्भव हुने विश्वास व्यक्त गरेको छ।
यसका साथै सुनसरीको देवानगञ्ज–कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासन र सरकारसँग प्रभावकारी कदम चाल्न महासंघले आग्रह गरेको छ। नागरिकलाई कुनै पनि प्रकारका भ्रम, उक्साहट र अफवाहबाट टाढा रहँदै संयमता अपनाउन तथा परम्परादेखि कायम सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन पनि अपिल गरिएको छ।
कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यद्वारा हस्ताक्षरित विज्ञप्तिको अन्त्यमा वर्तमान तनावपूर्ण अवस्थाको शीघ्र अन्त्य गर्दै स्थायी शान्ति स्थापना गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी तथा सबै सरोकारवालाले जिम्मेवार र सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ। महासंघले मुलुकको सामाजिक एकता, आर्थिक स्थायित्व र लगानीमैत्री वातावरण जोगाउन सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याएको छ।

प्रतिक्रिया दिनुहोस