काभ्रेपलाञ्चोक, साउन १८ । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकाले काठमाडौं उपत्यकामा अस्थायी रूपमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई लक्षित गर्दै सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि विशेष घुम्ती सेवा सञ्चालनमा ल्याएको छ।
गाउँपालिका पुग्न नसक्ने ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएका व्यक्ति तथा विभिन्न कारणले काठमाडौंमै बसोबास गरिरहेका नागरिकलाई सहज, छिटो र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यले यो अभियान सुरु गरिएको हो।
गाउँपालिका अध्यक्ष तथा पूर्व संविधानसभा सदस्य रेणुका चौँलागाईको विशेष पहल र सबै वडा अध्यक्षहरूको समन्वयमा सुरु गरिएको यो अभियानलाई स्थानीय सरकारको नागरिकमैत्री सेवा प्रवाहको उदाहरणका रूपमा हेरिएको छ। गाउँपालिकाले नागरिकलाई सेवा लिन गाउँसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सेवा नै नागरिकको पहुँचमा पुर्याउने अवधारणालाई व्यवहारमा उतारेको जनाएको छ।
यस अभियानअन्तर्गत गाउँपालिकाको पञ्जीकरण शाखाका कर्मचारीसहित अन्य प्राविधिक तथा प्रशासनिक कर्मचारीको टोली काठमाडौंमै खटिएर सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको कार्य गरिरहेको छ। यसबाट काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा र धुलिखेल क्षेत्रमा अस्थायी रूपमा बसोबास गरिरहेका चौरीदेउराली गाउँपालिकाका स्थायी बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्नेछन्।
सेवालाई सबैका लागि सहज बनाउन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। लामो समयसम्म सेवा उपलब्ध हुने भएकाले कार्यालय समयमा काममा व्यस्त रहने कर्मचारी, व्यवसायी तथा अन्य सेवाग्राहीलाई समेत ठूलो सुविधा पुग्ने गाउँपालिकाको विश्वास छ।
सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि काठमाडौंको पेप्सिकोलास्थित स्टार फुड एण्ड बैंक्वेट लाई अस्थायी सेवा केन्द्र तोकिएको छ। गाउँपालिकाले आवश्यक कागजातसहित उक्त सेवा केन्द्रमा उपस्थित भई सहज रूपमा परिचयपत्र नवीकरण गराउन सबै सेवाग्राहीलाई आग्रह गरेको छ।
गाउँपालिका अध्यक्ष रेणुका चौँलागाईले स्थानीय सरकारको मूल दायित्व नागरिकलाई सहज, प्रभावकारी र पहुँचयुक्त सेवा प्रदान गर्नु भएको उल्लेख गर्दै घुम्ती सेवा त्यसैको प्रत्यक्ष अभ्यास भएको बताइन्।
उनले भनिन्, “हामी चौरीदेउराली गाउँपालिकाका नागरिकको सेवामा निरन्तर प्रतिबद्ध छौँ। विशेषगरी गाउँपालिका पुग्न कठिनाइ हुने ज्येष्ठ नागरिक, अशक्त तथा काठमाडौंमा बसोबास गरिरहेका नागरिकलाई अनावश्यक दुःख, समय र खर्चबाट बचाउने उद्देश्यले यो सेवा सञ्चालन गरेका हौँ। आगामी दिनमा पनि नागरिकमैत्री सेवाको दायरा अझ विस्तार गर्दै जानेछौँ।”
अध्यक्ष चौँलागाईका अनुसार सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि गाउँपालिकासम्म पुग्नुपर्ने बाध्यता हटेपछि नागरिकको समय, श्रम तथा आर्थिक खर्च उल्लेखनीय रूपमा बच्नेछ। साथै सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र प्रभावकारी बनाउन पनि यस अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले पछिल्लो समय स्थानीय सरकार नागरिकको घरदैलोमै पुग्नुपर्छ भन्ने अवधारणालाई प्राथमिकतामा राख्दै सार्वजनिक सेवालाई प्रविधिमैत्री, उत्तरदायी र पहुँचयोग्य बनाउने नीति अवलम्बन गरिरहेको जनाएको छ। सोही नीतिअनुसार आगामी दिनमा नागरिकको आवश्यकता र मागका आधारमा यस्ता घुम्ती सेवाको दायरा अझ विस्तार गर्ने तयारीसमेत भइरहेको जानकारी दिइएको छ।
यसैबीच, गाउँपालिकाले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बसोबास गरिरहेका चौरीदेउराली गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै नागरिकलाई तोकिएको समय र स्थानमा उपस्थित भई समयमै सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गराउन आग्रह गरेको छ। गाउँपालिकाले उपलब्ध गराइएको यो विशेष अवसरको अधिकतम उपयोग गरी निर्धारित अवधिभित्र नवीकरण प्रक्रिया पूरा गर्नसमेत अनुरोध गरेको छ।
स्थानीय सरकारलाई नागरिकको दैलोसम्म पुर्याउने उद्देश्यसहित सुरु गरिएको यो अभियानले सेवा प्रवाहमा नयाँ अभ्यासको सुरुवात गरेको मात्र होइन, गाउँपालिका बाहिर बसोबास गर्ने नागरिकलाई राज्यको आधारभूत सेवामा सहज पहुँच सुनिश्चित गर्ने दिशामा समेत सकारात्मक सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस