२०८३ श्रावण २१, बिहिबार | Thu, 06, Aug, 2026

पाँचखालमा विकासको बाटो खुल्दै : रेखाङ्कन सम्पन्न, स्थानीयले दिए संरचना हटाउने प्रतिबद्धता


५५३९ पाठक संख्या
  • २०८३ श्रावण २१, बिहिबार मा प्रकाशित १ घण्टा अघि
  • काभ्रेपलाञ्चोक, साउन २१ । पाँचखाल नगरपालिकाले सडक स्तरोन्नति योजनालाई तीव्रता दिँदै वडा नं. ४ स्थित समाजकल्याण चोकदेखि नगरपालिकाको कार्यालयसम्म पुग्ने सडकको रेखाङ्कन कार्य सम्पन्न गरेको छ। सार्वजनिक जग्गा संरक्षण र सडक विस्तारको उद्देश्यसहित गरिएको रेखाङ्कनपछि स्थानीयले सार्वजनिक जग्गामा बनेका घर–टहरा हटाउन सहमति जनाएका छन्।

    बिहीबार सम्पन्न रेखाङ्कन कार्य पाँचखाल नगरपालिका वडा नं. ३ र वडा नं. ४ का वडा अध्यक्षहरूको रोहबरमा गरिएको हो। नगरपालिकाका प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको उपस्थितिमा सम्पन्न उक्त कार्य २०३२ सालको नापी नक्सालाई आधार मानेर गरिएको नगरपालिकाले जनाएको छ।

    रेखाङ्कनका क्रममा सार्वजनिक जग्गा तथा राजकुलो क्षेत्रअन्तर्गत पर्ने कित्ता नं. २८२ र ३२७ मा निर्माण भएका घर तथा टहरा हटाउन सम्बन्धित स्थानीयहरू सकारात्मक देखिएको जनाइएको छ। विकास निर्माणमा अवरोध नपुग्ने गरी सहमतिपूर्ण वातावरणमा प्रक्रिया अघि बढेको नगर स्रोतले जनाएको छ।

    यसअघि पाँचखाल नगरपालिकाले साउन ७ गते सार्वजनिक जग्गामा निर्माण भएका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो। सूचनामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनअनुसार सार्वजनिक जग्गाको संरक्षण गर्दै अतिक्रमण हटाइने उल्लेख गरिएको छ।

    सूचनाअनुसार समाजकल्याण चोकदेखि नगरपालिकाको कार्यालयसम्म निर्माण तथा स्तरोन्नति हुन लागेको सडक क्षेत्रमा पर्ने सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका कच्ची तथा पक्की संरचना सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले आफ्नै खर्चमा हटाउनुपर्ने उल्लेख छ। अन्यथा नगरपालिकाले कानुनबमोजिम संरचना हटाई त्यसको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्ने चेतावनी समेत दिइएको छ।

    नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको १५ दिनमै डिजिटल नापीको समेत व्यवस्था गरी स्थलगत रेखाङ्कन सम्पन्न गरेको हो। यसले नगरले सडक विस्तारको कामलाई योजनाबद्ध र कानुनी प्रक्रियाअनुसार अघि बढाइरहेको स्पष्ट देखिन्छ।

    समाजकल्याण–अनेकोट पर्यटकीय सडक नगरस्तरीय यातायात गुरुयोजनाअन्तर्गत १४ मिटर चौडाइ (सडक केन्द्रबाट दायाँ–बायाँ ७/७ मिटर) कायम गरिएको छ। यद्यपि, गुरुयोजना लागू हुनुअघि निर्माण भएका पुराना घरहरू तत्काल भत्काउने नीति नगरपालिकाले नलिएको स्रोतको भनाइ छ।

    तर, अब गुरुयोजना लागू भएपछि निर्माण हुने नयाँ भवनहरूले अनिवार्य रूपमा सडक मापदण्ड र सेटब्याक पालना गर्नुपर्नेछ। भविष्यमा पुराना सडकछेउका भवन पुनःनिर्माण गर्नुपरे करिब डेढ मिटर सडक मापदण्डसाढे दुई मिटर सेटब्याक गरी झण्डै चार मिटर पछाडि हटेर निर्माण गर्नुपर्ने व्यवस्था लागू हुनेछ।

    उक्त सडक स्तरोन्नतिका लागि नगरसभाबाट बजेटसमेत विनियोजन भइसकेको छ। रेखाङ्कनका क्रममा स्थानीयले गुणस्तरीय सडक निर्माणका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै तोकिएको समयमै सडक निर्माण सम्पन्न गर्न नगरपालिकासँग आग्रह गरेका छन्।

    नगरपालिकाको कानुनी प्रक्रिया, स्थानीयको सहमति र बजेट व्यवस्थापनसँगै पाँचखालको बहुप्रतीक्षित सडक स्तरोन्नति योजना अब कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। यसले नगरको यातायात पूर्वाधार सुधारसँगै सार्वजनिक जग्गा संरक्षणमा समेत महत्वपूर्ण उदाहरण स्थापित गर्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार