२०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

सुनसरी हिंसाको प्रभाव मधेसभरि, जनकपुर–सिराहा–वीरगन्जमा कर्फ्यु र निषेधाज्ञा


९११ पाठक संख्या
  • २०८३ श्रावण १४, बिहिबार मा प्रकाशित ८ घण्टा अघि
  • काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि त्यसको असर मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिएको छ। सुरक्षा अवस्था थप जटिल बन्ने संकेत देखिएपछि स्थानीय प्रशासनहरूले जनकपुर, सिराहा, सुनसरी तथा पर्साका विभिन्न क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा लागू गरेका छन्।

    सुनसरीमा साउन ११ गतेदेखि जारी रहेको कर्फ्यु आदेशलाई प्रशासनले थप विस्तार गर्दै देवानगञ्ज, कप्तानगन्ज, महेन्द्र राजमार्ग आसपासका क्षेत्र तथा इनरुवा बजारलाई समेत समेटेको छ। सम्भावित हिंसा र अवाञ्छित गतिविधि नियन्त्रणमा लिन सुरक्षा व्यवस्था थप कडा पारिएको प्रशासनले जनाएको छ।

    उता, धनुषाको जनकपुरधाममा प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरेको छ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिका तथा नगराइन नगरपालिकाका विभिन्न स्थानमा कर्फ्यु लागू गरिएको हो। प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।

    यस्तै, जिल्ला प्रशासन कार्यालय सिराहाले पनि बिहीबारदेखि लहान, गोलबजार र चोहर्वा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। पछिल्ला प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सम्भावित थप क्षति रोक्न यो कदम चालिएको प्रशासनको भनाइ छ।

    यसैबीच, प्रदर्शन फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पर्साको वीरगन्जमा पनि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म पाँच जनाभन्दा बढी व्यक्तिको जमघट, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाइएको छ।

    जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका क्षेत्रभित्र पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।

    सुनसरीमा सुरु भएको हिंसात्मक घटनाको प्रभाव क्रमशः मधेसका विभिन्न जिल्लामा फैलिन थालेपछि सुरक्षा निकाय उच्च सतर्कतामा रहेका छन्। स्थानीय प्रशासनहरूले सर्वसाधारणलाई अफवाहमा नलाग्न, शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्न तथा प्रशासनका निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार