२०८३ अषाढ १०, बुधबार | Wed, 24, Jun, 2026

शीतभण्डारदेखि निःशुल्क एम्बुलेन्ससम्म , पाँचखालका महत्वाकांक्षी योजना


३४५९ पाठक संख्या
  • २०८३ अषाढ १०, बुधबार मा प्रकाशित ३ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । असार १० । कृषि उत्पादनको केन्द्रका रूपमा परिचित पाँचखाल नगरपालिकाले आर्थिक वर्ष २०८३/ ८४ का लागि कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगारी तथा पूर्वाधार विकासलाई केन्द्रमा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभाको १९औँ बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमले आगामी वर्षलाई विकास, सुशासन र सेवा प्रवाह सुधारको वर्षका रूपमा परिभाषित गरेको छ ।
    कार्यवाहक नगर प्रमुख सूर्यमाया दनुवारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा “पाँचखाल नगर कृषि सहर” भन्ने मूल नारालाई व्यवहारमा उतार्ने लक्ष्यसहित कृषिलाई थप आधुनिक, व्यावसायिक र प्रविधिमैत्री बनाउने योजनाहरू समावेश गरिएको छ । नगरपालिकाले किसानले उत्पादन गरेको आलु तथा हरियो तरकारीको उचित मूल्य सुनिश्चित गर्न अत्याधुनिक शीतभण्डार निर्माणको पहल गर्ने भएको छ । कृषि उत्पादनको बजारीकरण सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन, विषादी परीक्षण, माटो परीक्षण प्रयोगशाला सुदृढीकरण तथा कृषि उत्पादनको ग्रेडिङ, प्याकेजिङ र ब्रान्डिङलाई प्राथमिकता दिइएको छ ।

    युवा तथा महिलालाई कृषि उद्यममा आकर्षित गर्न सहुलियतपूर्ण कर्जा, क्षमता विकास तालिम तथा उद्यमशीलता प्रबरद्धनका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । तामाघाटमा सञ्चालन हुँदै आएको हाटबजारलाई थप व्यवस्थित बनाइने र कृषि मेलालाई निरन्तरता दिइने भएको छ । पशुपालन क्षेत्रको विकासका लागि पशु सेवा केन्द्रको स्तरोन्नति, रेविजविरुद्ध खोप अभियान, दूध उत्पादनमा आधारित नगद प्रोत्साहन तथा पशुधन राहत कोष स्थापना गर्ने नीति अघि सारिएको छ । बँदेल तथा प्राकृतिक विपत्तिबाट कृषि र पशुधनमा हुने क्षतिको राहत व्यवस्थासमेत गरिने भएको छ ।
    उद्योग तथा रोजगारीतर्फ स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई कर छुट, स्थानीयलाई रोजगारी दिने उद्योगलाई पूर्वाधार सहयोग तथा श्रम बैंक स्थापना गरी दक्ष जनशक्तिलाई रोजगारीसँग जोड्ने योजना सार्वजनिक गरिएको छ । पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको अर्को आधारका रूपमा विकास गर्ने लक्ष्यसहित पलाञ्चोक भगवती, दुग्धेश्वर लगायत धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रचारप्रसारलाई प्राथमिकता दिइएको छ । अनैकोट भ्यूटावर क्षेत्रको विकास, प्रकृतिमैत्री हाइकिङ तथा ट्रेकिङ मार्ग निर्माण, मिनी जू स्थापना तथा पाराग्लाइडिङ, जिपलाइन र केवलकारजस्ता साहसिक पर्यटन पूर्वाधारका लागि निजी क्षेत्रसँग सहकार्य गरिने जनाइएको छ ।
    शिक्षा क्षेत्रमा डिजिटल शिक्षण प्रणाली विस्तार, स्थानीय पाठ्यक्रम कार्यान्वयन, दनुवार र तामाङ भाषामा प्राथमिक तहको अध्ययन–अध्यापन तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । विद्यालयमा संगीत, योग, मार्सल आर्ट तथा कृषि शिक्षालाई व्यवहारिक रूपमा जोड्ने योजना पनि समेटिएको छ ।
    स्वास्थ्य क्षेत्रमा पाँचखाल आधारभूत अस्पताललाई थप सुविधासम्पन्न बनाउँदै इन्डोर सेवा र विशेषज्ञ सेवा विस्तार गर्ने तयारी गरिएको छ । वृद्ध, असहाय, गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, स्वास्थ्य बीमा विस्तार, मानसिक स्वास्थ्य परीक्षण तथा विपन्न नागरिक उपचार कोष स्थापना गर्ने घोषणा गरिएको छ । पूर्वाधार विकासतर्फ सबै वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था तथा धार्मिक स्थलसम्म कालोपत्रे सडक पहुँच पुर्याउने लक्ष्य लिइएको छ । रणनीतिक सडक स्तरोन्नति, सिँचाइ विस्तार, एकीकृत बस्ती विकास अध्ययन, भवन नक्सा पासको डिजिटल प्रणाली तथा जीआईएसमा आधारित नगरको ई–प्रोफाइल निर्माण गरिने भएको छ ।
    फोहोर व्यवस्थापन र वातावरण संरक्षणलाई पनि प्राथमिकतामा राखिएको छ । घरमै फोहोर वर्गीकरण, वैज्ञानिक व्यवस्थापन, सामूहिक फोहोर प्रशोधन केन्द्र स्थापना तथा नगर क्षेत्रलाई हरियाली र सौन्दर्ययुक्त बनाउने अभियान सञ्चालन गरिने नीति सार्वजनिक गरिएको छ । सुशासनतर्फ सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, कार्यसम्पादन सम्झौता, बेरुजु न्यूनीकरण तथा डिजिटल सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने जनाइएको छ । साथै नगरको विकास अभियानमा योगदान पुर्याउने सञ्चारकर्मी, समाजसेवी र अभियानकर्तालाई सम्मान तथा पुरस्कृत गर्ने व्यवस्था पनि गरिएको छ ।
    जनप्रतिनिधिको कार्यकालको अन्तिम वार्षिक नीति तथा कार्यक्रमका रूपमा आएको यस दस्तावेजले कृषि उत्पादन, रोजगारी सिर्जना, गुणस्तरीय स्वास्थ्य सेवा, आधुनिक पूर्वाधार र सुशासनमार्फत ‘समृद्ध पाँचखाल, सुखी नगरवासी’ को लक्ष्य हासिल गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको नगरपालिकाको दाबी छ ।

    ‘कृषि सहर’ बनाउने अभियानलाई निरन्तरता,
    पाँचखालले ल्यायो ९६ करोडको बजेट

    पाँचखाल नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ९६ करोड ६१ लाख ९० हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले आगामी वर्षको बजेटमा कृषि आधुनिकीकरण, पूर्वाधार विकास, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार, पर्यटन प्रवद्र्धन तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ ।
    पाँचखाल नगरपालिका प्रबक्ता एवं वडा नं ८ का वडा अध्यक्ष संजय तामाङ ले नगरसभाको १९ औँ अधिवेशनमा बजेट प्रस्तुत गर्दै पाँचखाललाई ‘कृषि सहर’ का रूपमा स्थापित गर्ने अभियानलाई थप प्रभावकारी बनाइने बताउनु भयो । बजेटमा चालु खर्चतर्फ १६ करोड रुपैयाँ र पुँजीगत तथा कार्यक्रम खर्चतर्फ ४५ करोड १९ लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसबाहेक शशर्त , समपूरक, विशेष अनुदान तथा सडक बोर्डतर्फ ३४ करोड ६३ लाख २५ हजार रुपैयाँ छुट्याइएको छ ।
    नगरपालिकाले शून्य बेरुजुको लक्ष्यसहित सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, नागरिक वडापत्र र डिजिटल सेवा विस्तारलाई प्राथमिकता दिएको छ । करको दायरा विस्तार गर्दै आन्तरिक राजस्व वृद्धि गर्ने तथा करदातामैत्री कार्यक्रम सञ्चालन गरिने भएको छ । नगरपालिकाको कुल बजेटमध्ये संघीय सरकारबाट प्राप्त समानीकरण, सशर्त, समपूरक र राजस्व बाँडफाँड अनुदान, प्रदेश सरकारका विभिन्न अनुदान, सडक बोर्डको सहयोग तथा आन्तरिक स्रोत प्रमुख आधार रहेका छन् । आन्तरिक स्रोतबाट मात्रै ४ करोड ४० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।


    नगरका शाखा अधिकृत सन्तोष पौडेलद्वारा सञ्चालित नगरशभामा पाँचखाल वडा नं १० को वडा अध्यक्ष एवं सुशासन समितिको संयोजक नारायण सापकोटा , वडा नं ३ का वडा अध्यक्ष एवं सामाजिक विकास संयोजक सुन्दर अधिकारी , पाँचखाल नगर प्रबक्ता वडा नं ८ का वडा अध्यक्ष एवं पुर्वाधार विकास संयोजक संजय तमाङ , वडा नं ४ को वडा अध्यक्ष एवं आर्थिक विकास संयोजक सुन्दर तमाङ , जिल्ला समन्वय समितिको काभ्रेको सदस्य चण्डीका रम्तेल , पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल लगायतले नीति तथा कार्यक्रम साथै वजेटको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार