धनगढी, ३१ जेठ – कैलालीमा वन अतिक्रमण हटाउने क्रममा डिभिजन वन कार्यालयका कर्मचारीले एउटा टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि व्यापक आलोचना भएको छ।
घटना भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ बासपानी क्षेत्रमा भएको हो। स्थानीय धनादेवी धामीले पुरानो टेम्पोलाई खुद्रा पसलका रूपमा प्रयोग गर्दै जीविकोपार्जन गर्दै आएकी थिइन्। वन कार्यालयले उक्त टेम्पो वन तथा सडक क्षेत्र अतिक्रमण गरेर राखिएको भन्दै हटाउने क्रममा कर्मचारीले भिरबाट खसालिदिएको भिडियो सार्वजनिक भएको हो।
धामीका अनुसार कर्मचारीले टेम्पोमा रहेका सामानहरू झारिसकेपछि आफूले टेम्पो घरतर्फ लैजान आग्रह गरेकी थिइन्। तर, कर्मचारीहरूले त्यसलाई बेवास्ता गर्दै सडकबाटै भिरमा धकेलेर खसालेका हुन्। घटनापछि स्थानीयवासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सरकारी निकायको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
यता, डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने पटक–पटकको आग्रह र निर्देशनलाई बेवास्ता गरिएकाले हटाउने प्रक्रिया अघि बढाइएको बताएका छन्। उनका अनुसार सम्बन्धित व्यक्तिलाई गत पुस महिनादेखि नै टेम्पो हटाउन भनिएको थियो।
“सडकमा सञ्चालन गर्न नमिल्ने पुरानो टेम्पोलाई पसलका रूपमा प्रयोग गरिएको थियो। हामीले धेरैपटक हटाउन अनुरोध गरेका थियौं,” ठाकुरले भने, “कर्मचारीहरू खाली गराउन पुगेका बेला गालीगलौजसमेत भएपछि आवेशमा त्यस्तो अवस्था सिर्जना भएको हुन सक्छ।”
ठाकुरले भिरमा खसालिएको टेम्पो सञ्चालनयोग्य सवारी साधन नभई पुरानो संरचनाजस्तै प्रयोग गरिएको दाबी गरे। उनले वन तथा राजमार्ग क्षेत्र अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत हालसम्म ४७ वटा संरचना हटाइएको जानकारी दिए।
यद्यपि, अतिक्रमण हटाउने नाममा नागरिकको सम्पत्ति भौतिक रूपमा नष्ट गरिनु उचित हो वा होइन भन्ने विषयमा बहस सुरु भएको छ। कानुनी प्रक्रिया र मानवीय संवेदनशीलता पालना गरिएको थियो कि थिएन भन्ने प्रश्न उठ्दै जाँदा सम्बन्धित निकायमाथि घटनाबारे थप स्पष्टता दिन दबाब बढेको छ।
प्रतिक्रिया दिनुहोस