काभ्रेपलाञ्चोक, १९ असार — बर्खायाममा दूषित पानीका कारण फैलिन सक्ने सरुवा रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सामाजिक सेवामा सक्रिय गैरसरकारी संस्था उज्यालो नेपालले पाँचखाल नगरपालिकाका खानेपानी उपभोक्ता समितिलाई ब्लीचिङ पाउडर वितरण गरेको छ।
पाँचखाल नगरपालिकाभित्र रहेका ५८ वटा खानेपानी उपभोक्ता समितिमध्ये पहिलो चरणमा २३ वटा समितिलाई प्रतिसमिति २५ केजीका दरले पानी शुद्धीकरणका लागि आवश्यक ब्लीचिङ पाउडर हस्तान्तरण गरिएको हो। संस्थाका अनुसार बाँकी समितिलाई पनि क्रमशः सामग्री उपलब्ध गराइनेछ।
संस्थाका कार्यक्रम संयोजक सुनिता योञ्जनले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष संजय तामाङले पाँचखालवासीले प्रयोग गर्ने खानेपानीलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय बनाउन यो अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले सुरक्षित खानेपानी उपलब्ध गराउनु जनस्वास्थ्य संरक्षणको आधार भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
कार्यक्रमकी प्रमुख अतिथि तथा पाँचखाल नगरपालिकाकी कार्यबाहक प्रमुख सूर्यमाया दनुवारले बर्खायाममा बाढी, पहिरो र सतही प्रदूषणका कारण पानीका स्रोत दूषित हुने जोखिम बढ्ने बताउँदै पानी शुद्धीकरणलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
उहाँले स्थानीय सरकारले गर्नुपर्ने काममा उज्यालो नेपालले संस्थागत रूपमा सहयोग गरेर नगरवासीप्रति महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो। ब्लीचिङ पाउडर प्रयोगपछि पानीको स्वाद वा गन्धमा सामान्य परिवर्तन आउन सक्ने भएकाले त्यसबारे उपभोक्तालाई पूर्वजानकारी गराउन तथा प्राविधिक मापदण्डअनुसार मात्र यसको प्रयोग गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि तथा पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जनस्वास्थ्यसँग सम्बन्धित करिब ६० देखि ७० प्रतिशत रोग दूषित खानेपानीकै कारण हुने गरेको उल्लेख गर्दै समयमै पानी शुद्धीकरण सामग्री उपलब्ध गराएकोमा उज्यालो नेपालको प्रशंसा गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा उज्यालो नेपालका कोषाध्यक्ष प्रभाकर महर्जनले संस्था विगत १२ वर्षदेखि पाँचखाल नगरपालिकालाई केन्द्रमा राखेर खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर कार्यरत रहेको जानकारी दिनुभयो। गत वर्ष पनि पानी शुद्धीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको स्मरण गराउँदै उहाँले बर्खायाममा घरघरमा सुरक्षित खानेपानी पुगोस् भन्ने उद्देश्यले वितरण गरिएको सामग्रीको सही र प्रभावकारी प्रयोग गर्न उपभोक्ता समितिलाई आग्रह गर्नुभयो।
२०७२ मंसिर २९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको उज्यालो नेपालले काठमाडौं, काभ्रेपलाञ्चोक र रामेछापलाई कार्यक्षेत्र बनाएर विभिन्न सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले यसअघि पाँचखाल नगरपालिकालाई शववाहन उपलब्ध गराइसकेको छ भने स्वास्थ्य, शिक्षा र सामुदायिक विकासका क्षेत्रमा समेत निरन्तर सहयोग पुर्याउँदै आएको जनाएको छ।
संस्थाले धुलिखेल अस्पतालसँगको सहकार्यमा सवारी दुर्घटना तथा अन्य आकस्मिक अवस्थाका बिरामीले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आकस्मिक उपचारका लागि अग्रिम कोष स्थापना गर्ने तयारीसमेत थालेको छ। उपचारपछि सम्बन्धित स्रोतबाट खर्च व्यवस्थापन गर्ने प्रणाली विकास गरिने संस्थाको योजना छ।
यसका अतिरिक्त स्वास्थ्य क्षेत्रमा औषधि उपलब्ध गराउने, औषधि पसल सञ्चालनका लागि बीउ पुँजी उपलब्ध गराउने, एम्बुलेन्स व्यवस्थापन गर्ने तथा शिक्षा क्षेत्रमा अतिरिक्त कक्षा सञ्चालन, स्टेशनरी वितरण, नमुना विद्यालय अध्ययन-अवलोकन र सामुदायिक भवन निर्माणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ।
संस्थाका परोपकारी कार्यक्रमका लागि जर्मन नागरिक जोनास बर्गर र नोबेल ग्रोवेलको सक्रियतामा स्थापना गरिएको ‘उज्यालो लिजविक नेपाल–जर्मनी’मार्फत जर्मनीमा अध्ययनरत विद्यार्थी तथा शुभेच्छुकबाट सहयोग संकलन हुँदै आएको छ। संकलित रकम नेपालका ग्रामीण तथा सामुदायिक विकासका दीर्घकालीन कार्यक्रमहरूमा पारदर्शी रूपमा परिचालन गरिँदै आएको संस्थाले जनाएको छ।





प्रतिक्रिया दिनुहोस