२०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

आकस्मिक वाढीले पल्सर बग्यो, चालकको सकुशल उद्धार


४७५९ पाठक संख्या
  • २०८३ श्रावण ४, सोमबार मा प्रकाशित १ दिन अघि
  • काभ्रेपलाञ्चोक ।४ साउन । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–५ स्थित खानीखोला बर्तली दोभानमा आइतबार साँझ आएको आकस्मिक बाढीले एउटा मोटरसाइकल बगाएको छ। घटनामा मोटरसाइकल चालक भने सकुशल उद्धार भएका छन्।

    महाभारत गाउँपालिका–५ का वडा अध्यक्ष विजय रानाका अनुसार साँझ करिब ७ देखि ८ बजेको बीचमा सिन्धुलीको घ्याङ्लेख गाउँपालिका निवासी सुन्दर श्रेष्ठले चलाएको पल्सर–२२० मोटरसाइकल खोला तर्ने क्रममा अचानक आएको भेलमा परेर बगाएको हो।

    घटनापछि स्थानीयवासी तत्काल उद्धारमा खटिएका थिए। उनीहरूको सक्रियतामा चालकको सकुशल उद्धार गरिएको भए पनि मोटरसाइकल भने हालसम्म फेला पर्न सकेको छैन। स्थानीयवासीले खोलामा निरन्तर खोजी कार्य गरिरहेको वडा अध्यक्ष रानाले जानकारी दिए।

    वर्षायाम सुरु भएसँगै महाभारत गाउँपालिकाका ग्रामीण सडकहरू हिलाम्मे हुने, खोलानालामा पानीको बहाव बढ्ने र यातायात सञ्चालन जोखिमपूर्ण बन्ने समस्या हरेक वर्ष दोहोरिने गरेको स्थानीयवासी बताउँछन्। पर्याप्त सडक तथा पुलको पूर्वाधार नहुँदा सर्वसाधारणले दैनिक आवतजावतमा सास्ती खेप्नुपरेको उनीहरूको गुनासो छ।

    स्थानीयले वर्षायाममा जोखिमयुक्त सडक तथा खोलानाला पार गर्दा विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्। साथै, वर्षेनी दोहोरिने यस्ता दुर्घटना न्यूनीकरण गर्न सुरक्षित सडक र पक्की पुल निर्माणलाई प्राथमिकता दिन सम्बन्धित निकायसँग माग गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार