२०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’


१५०९ पाठक संख्या
  • २०८३ श्रावण २५, सोमबार मा प्रकाशित १ दिन अघि
  • काठमाडौं । महाभारतको युद्ध सकिएपछि रणभूमिमा शान्ति छाए पनि मानिसको मन, सत्ता र समाजभित्रको द्वन्द्व भने सकिँदैन। युद्धले छाडेको घाउ, प्रतिशोध, हिंसा, नैतिक संकट र मानवीय शून्यताको यही कथा अहिले काठमाडौंको मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’मार्फत मञ्चन भइरहेको छ।

    धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’ को नेपाली रूपान्तरित प्रस्तुति ‘द एज अफ डार्कनेस’ले महाभारतको युद्धपछिको अवस्थालाई केन्द्रमा राख्दै वर्तमान समाजका राजनीतिक, सामाजिक तथा मानवीय संकटलाई उजागर गरेको छ। नाटकको नेपाली रूपान्तरण राजेन्द्र सलभले गरेका हुन् भने निर्देशन सुदीप खतिवडाको रहेको छ।

    नाटकले महाभारतको पुरानो कथालाई आधार बनाएर आजको समाजमा देखिने हिंसा, सत्ता संघर्ष, प्रतिशोध, नैतिक द्वन्द्व र मानवीय जिम्मेवारीका प्रश्नलाई दर्शकमाझ प्रस्तुत गरेको छ। युद्धमा को विजेता भयो र को पराजित भयो भन्नेभन्दा पनि युद्धले दुवै पक्षमा छाडेको मानसिक, सामाजिक र मानवीय प्रभावलाई नाटकले गहिरो रूपमा केलाउने प्रयास गरेको छ।

    निर्देशक खतिवडाका अनुसार युद्ध सकिएपछि पनि त्यसको प्रभाव तत्काल समाप्त हुँदैन। युद्धपछि जन्मिने प्रतिशोध, सत्ता प्राप्तिको होड, नैतिक विचलन र मानवीय संवेदनाको संकटले समाजलाई लामो समयसम्म प्रभावित गरिरहन्छ। यही विषयलाई समकालीन परिवेशसँग जोडेर नाटक प्रस्तुत गरिएको उनले बताए।

    रोचक पक्ष त के छ भने करिब ११ वर्षअघि यही नाटकमार्फत सुदीप खतिवडा अभिनय क्षेत्रमा प्रवेश गरेका थिए। त्यतिबेला कलाकारका रूपमा मञ्चमा उभिएका खतिवडा अहिले भने सोही नाटकलाई निर्देशकका रूपमा दर्शकमाझ ल्याएका छन्। पुरानो नाटकलाई वर्तमान समय र नयाँ पुस्ताका दर्शकसँग जोड्दै फरक शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको उनको भनाइ छ।

    मण्डला थिएटरको प्रस्तुतिमा रहेको नाटकले महाभारतको कथाभित्र लुकेको मानवीय मनोविज्ञानलाई समकालीन समाजसँग जोड्दै ‘युद्धपछि के हुन्छ ?’ भन्ने गम्भीर प्रश्न उठाएको छ। युद्धको अन्त्यसँगै द्वन्द्व समाप्त हुन्छ भन्ने सामान्य बुझाइभन्दा पर पुगेर नाटकले युद्धपछिको अन्धकार, निराशा र नैतिक संकटलाई मञ्चमा उतारेको छ।

    नाटकमा सबिना चौधरी, कमल रेग्मी, राजाराम गौतम, जिनलव दोर्जे वम्जन, आभुषण घिमिरे, मिलन पन्त, इन्द्रकुमार लिम्बु, जोहेब शाह, सुजित मल्ल ठकुरी, सामना राई, विजय दोङ, सौगन श्रेष्ठ, राजु श्रेष्ठ, नित्य पौडेल, विश्वजित ढकाल, मनुमित लेप्चा, घमन शाही, आरती बरुवाल, सुनिता राई, कुमार लामा, सुरेन्द्र विश्वकर्मा, सुजाता राई, अभिषेक खतिवडा, सम्पदा लकान्द्रि र सुजल कोइरालालगायत कलाकारको अभिनय रहेको छ।

    नाटकको संगीततर्फ सौरभ चालिसे, सलिना विक, जीवन राई र कुमार लामाको योगदान रहेको छ। ‘द एज अफ डार्कनेस’ आगामी भदौ १४ गतेसम्म मण्डला थिएटरमा मञ्चन हुनेछ।

    महाभारतको कथा सुनेर हुर्किएको पुस्ताका लागि परिचित कथावस्तु भए पनि त्यसलाई आजको राजनीतिक, सामाजिक र मानवीय संकटसँग जोडेर प्रस्तुत गरिएकाले ‘द एज अफ डार्कनेस’ केवल पौराणिक कथा नभई समकालीन समाजको ऐनाका रूपमा समेत हेर्न सकिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार