विपन्न बिरामीको थप उपचार निःशुल्कदेखि मोतियाबिन्दुको शल्यक्रियासम्मको व्यवस्था
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–५ स्थित गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा ३३५ जना बिरामीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन्। Lions Club of Kavrepalanchok Bhagwati को आयोजनामा सञ्चालन गरिएको शिविरमा विभिन्न रोगका बिरामीलाई एकै स्थानबाट विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराइएको हो।
शिविरमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी), सिनामंगल, काठमाडौंको प्राविधिक सहयोग रहेको थियो। केएमसीबाट करिब दुई दर्जन विशेषज्ञ तथा प्राविधिक जनशक्ति शिविरमा खटिएका थिए।
शिविरमा जनरल मेडिसिन, स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नसा, नाक–कान–घाँटी, आँखा, दन्तरोग, प्रयोगशाला (ल्याब) तथा भिडियो एक्स–रे लगायतका सेवा प्रदान गरिएको थियो। बिरामीको स्वास्थ्य अवस्था परीक्षण गरी आवश्यक परामर्श, औषधि तथा थप उपचारका लागि चिकित्सकीय सुझावसमेत दिइएको थियो।
शिविरमा आएका कतिपय बिरामीले एकभन्दा बढी स्वास्थ्य समस्या लिएर आएका थिए। एउटै बिरामीले चार प्रकारसम्मका रोगको परीक्षण तथा उपचार सेवा लिएको आयोजकले जनाएको छ। ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई घरआँगनमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजक संस्थाको भनाइ छ।
स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले थप उपचार तथा शल्यक्रिया आवश्यक रहेको पहिचान गरेका बिरामीका लागि समेत विशेष व्यवस्था गरिएको छ। शिविरमा स्वास्थ्य परीक्षण गराएको पुर्जीलाई आधार मानी काठमाडौं मेडिकल कलेज टिचिङ अस्पतालमा जुनसुकै प्रकारको शल्यक्रियासहित अन्य उपचार सेवामा २५ प्रतिशत छुट उपलब्ध गराउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
त्यसैगरी, शिविरमा सहभागी विपन्न परिवारका बिरामीलाई थप उपचार आवश्यक परेमा शतप्रतिशत निःशुल्क उपचारको व्यवस्था मिलाइने उज्यालो नेपालका अध्यक्ष एवं पाँचखाल नगरपालिका प्रबक्ता साथै पाँचखाल वडा नं ८ को वडा अध्यक्ष सञ्जय तामाङले जानकारी दिनुभयो। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको उहाँको भनाइ छ।
शिविरमा आँखा परीक्षणका क्रममा मोतियाबिन्दुको शल्यक्रिया आवश्यक देखिएका बिरामीका लागि निःशुल्क शल्यक्रियासहित यातायात, बिरामी तथा कुरुवाको खानाको समेत व्यवस्था गरिने तामाङले बताउनुभयो। यसले विशेषगरी आर्थिक रूपमा कमजोर तथा ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
शिविरमा लायन्स क्लब अफ भक्तपुर रुद्राक्ष, लायन्स क्लब अफ काठमाडौं रुद्राक्ष, लायन्स क्लब अफ काठमाडौं डाक्टरटाउन, लायन्स क्लब अफ काठमाडौं हेल्थमाइड, उज्यालो नेपाल, पाँचखाल जेसिज, पाँचखाल नगरपालिका तथा पाँचखाल नगर स्काउट लगायतका संस्थाको सहकार्य रहेको थियो।
आयोजक संस्थाका अनुसार स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा पुर्याउने उद्देश्यले आयोजित शिविरमा स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको थियो। विशेषगरी आर्थिक अवस्था कमजोर भएका, नियमित रूपमा अस्पताल पुग्न नसकेका तथा विभिन्न स्वास्थ्य समस्या लिएर बसेका नागरिकले शिविरबाट प्रत्यक्ष लाभ लिएका थिए।
शिविर सफल बनाउन सहयोग गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली, स्थानीयवासी, विद्यालयका शिक्षक तथा सहयोगी संस्थाका प्रतिनिधिहरूलाई आयोजकले धन्यवादसहित सम्मान गरेको थियो।
आयोजकले यस्ता स्वास्थ्य शिविरलाई एकदिने कार्यक्रममै सीमित नराखी शिविरबाट पहिचान भएका बिरामीको थप उपचारसम्म जोड्ने प्रयास गरिएको जनाएको छ। निःशुल्क परीक्षणसँगै आवश्यक उपचारमा छुट, विपन्नका लागि निःशुल्क उपचार र मोतियाबिन्दुका बिरामीलाई शल्यक्रियासहितको सुविधा उपलब्ध गराउने व्यवस्थाले शिविरलाई सामान्य स्वास्थ्य परीक्षणभन्दा थप प्रभावकारी बनाएको देखिन्छ।
प्रतिक्रिया दिनुहोस