२०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

जलविद्युत् आयोजनामा पहिरो : एक बेपत्ता, एक घाइते


८८५ पाठक संख्या
  • २०८३ श्रावण २६, मंगलबार मा प्रकाशित ४ घण्टा अघि
  • म्याग्दी, २६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।

    आज बिहान विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर विद्युत्गृह पुरिँदा आयोजनामा कार्यरत अन्नपूर्ण गाउँपालिका–६ का ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका हुन्। पहिरोमा परी गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पहिरोमा बेपत्ता बरुवालको खोजी कार्य जारी छ। प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको संयुक्त टोलीले घटनास्थलमा खोज तथा उद्धार कार्य गरिरहेको छ।

    घाइते विकलाई घटनास्थलबाट उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

    पहिरोले विद्युत्गृहका महत्वपूर्ण उपकरणमा समेत क्षति पुर्‍याएको छ। उपकरणमा क्षति पुगेपछि म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको जनाइएको छ।

    घटनापछि आयोजनाको विद्युत्गृह क्षेत्रमा थप पहिरोको जोखिमसमेत रहेकाले उद्धार तथा खोजी कार्यमा सावधानी अपनाइएको छ। बेपत्ता बरुवालको खोजीलाई प्राथमिकतामा राखेर सुरक्षाकर्मी तथा स्थानीयवासी परिचालन गरिएको प्रहरीले जनाएको छ।

    पहिरोका कारण आयोजनामा भएको क्षतिको विस्तृत विवरण भने उद्धार तथा स्थलगत निरीक्षणपछि मात्रै यकिन हुने बताइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार