२०८३ भाद्र २२, सोमबार | Mon, 07, Sep, 2026

छापा माध्यम संकटमा : सरकारविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा


२१०७ पाठक संख्या
  • २०८३ भाद्र २०, शनिबार मा प्रकाशित १ दिन अघि
  • काठमाडौं । सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि छापा माध्यम बचाउन पत्रकार तथा सञ्चारकर्मीहरू आन्दोलनको तयारीमा जुटेका छन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ सुझाव कार्यदलले सरकारी निर्णय तत्काल फिर्ता गराउन चरणबद्ध आन्दोलनमा जान सुझाव दिएको छ।

    कार्यदलले पहिलो चरणमा सरकार तथा प्रमुख राजनीतिक दलका नेताहरूसँग संवाद र दबाबमूलक छलफल गर्ने तथा एक साताभित्र माग सम्बोधन नभए भौतिक आन्दोलन सुरु गर्ने प्रस्ताव महासंघसमक्ष राखेको छ।

    शनिबार बिहान बसेको कार्यदलको बैठकले दामोदरप्रसाद दवाडीलाई संयोजक चयन गर्दै नेपाल पत्रकार महासंघलाई सातबुँदे सुझाव प्रस्तुत गरेको हो। बैठकले संशोधित कार्यविधिअनुसार कटौती गरिएको रकममा लोककल्याणकारी विज्ञापनको बिल विज्ञापन बोर्ड वा सम्बन्धित हुलाक कार्यालयमा पेस नगर्न देशभरका छापा माध्यमलाई आह्वान गर्न महासंघ केन्द्रीय समितिसमक्ष अनुरोध गर्ने निर्णयसमेत गरेको छ।

    कार्यदलले सरकारी विज्ञापन वितरणमा भइरहेको विभेद, लोककल्याणकारी विज्ञापनको रकम कटौती तथा राष्ट्रिय समाचार समिति (रासस) को बुलेटिन शुल्कमा गरिएको ठूलो कटौती तत्काल सच्याउनुपर्ने निष्कर्ष निकालेको छ।

    यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सम्बन्धित सरकारी निकाय तथा राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरी समस्या समाधानका लागि प्रभावकारी दबाब सिर्जना गर्ने निर्णय गरिएको कार्यदलले जनाएको छ।

    कार्यदलको निष्कर्षअनुसार छापा माध्यमको आर्थिक संकट दिनप्रतिदिन गहिरिँदै गएको अवस्थामा लोककल्याणकारी विज्ञापनको रकम कटौतीले विशेषगरी साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको अस्तित्वमै गम्भीर चुनौती थपेको छ।

    “छापा माध्यमको संरक्षण केवल सञ्चार व्यवसायको विषय होइन, यो प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो,” कार्यदलको धारणा रहेको छ।

    कार्यदलले सरकारले विज्ञापन वितरण नीतिमा समानता, पारदर्शिता र न्यायोचित व्यवहार सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। सञ्चारमाध्यमबीच विभेदपूर्ण नीति अवलम्बन गरिए त्यसले स्वतन्त्र पत्रकारिता र लोकतान्त्रिक सूचना प्रणालीमै नकारात्मक असर पार्ने चेतावनीसमेत दिइएको छ।

    नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले भदौ १९ गते आयोजना गरेको छापा माध्यमका सम्पादक तथा प्रकाशकहरूसँगको सुझाव संकलन तथा छलफलपछि उक्त कार्यदल गठन गरेको थियो।

    दवाडीको संयोजकत्वमा गठित कार्यदलमा डा. केशव देवकोटा, टंक कार्की, हेमराज सिलवाल, मुक्ति बास्तोला, विश्वराज किराँत, सीता पोखरेल, नृपेन्द्रलाल श्रेष्ठ, डिल्लीराम भट्टराई, पदमराज जोशी र कल्पना खड्का सदस्य रहेका छन्।

    कार्यदलले सरकारलाई तत्काल निर्णय पुनर्विचार गरी आर्थिक संकटमा रहेका छापा माध्यमलाई जोगाउने वातावरण बनाउन आग्रह गरेको छ। संवादबाट समस्या समाधान नभए नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नेतृत्वमा देशभरका छापा माध्यमलाई एकताबद्ध गर्दै चरणबद्ध दबाबमूलक तथा आन्दोलनका कार्यक्रम अघि बढाउनुपर्ने सुझावसमेत दिइएको छ।

    सरकारले समयमै निर्णय सच्याउने कि छापा माध्यमको आवाज सडकसम्म पुग्ने? अबको एक साताले त्यसको दिशा तय गर्ने देखिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु