
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–४ स्थित गोल्डेन फ्यूचर माध्यमिक विद्यालयले विद्यार्थीमा लुकेर रहेको गायन प्रतिभा पहिचान तथा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरेको ‘दोस्रो गोल्डेन गायन प्रतिभा–प्रतियोगिता’ बिहीबार भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीमध्येबाट छनोट हुँदै प्रतियोगितामा सहभागिता जनाएका विद्यार्थीहरूले विभिन्न गीत प्रस्तुत गरेका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन विद्यार्थीलाई ट्रफी तथा सम्मान प्रदान गरिएको थियो। प्रतियोगितामा आयुष्मा तामाङ उत्कृष्ट, सुरवी भट्टराई प्रथम र सोफिया खड्का द्वितीय हुन सफल भएका छन्।
विद्यालयका ईसीए संयोजक भोलानाथ सापकोटाको सञ्चालन तथा प्राचार्य विशाल घिमिरेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी ईश्वरीराजकुमार मैनाली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मैनालीले ‘गोल्डेन गायन प्रतिभा–प्रतियोगिता’ जस्तो सिर्जनात्मक तथा प्रतिभामूलक कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले शिक्षा केवल किताब पढ्ने, परीक्षा दिने र अंक प्राप्त गर्ने विषयमा सीमित नरहेको उल्लेख गर्दै विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा, सिर्जनशीलता, आत्मविश्वास, अनुशासन, नैतिकता तथा नेतृत्व क्षमतालाई उजागर गर्नु पनि शिक्षाको महत्वपूर्ण पक्ष भएको बताउनुभयो।
“गोल्डेन गायन प्रतिभा–प्रतियोगिता केवल गायन प्रतियोगिता मात्र होइन, विद्यार्थीको प्रतिभा पहिचान गर्ने, आत्मविश्वास बढाउने र आफ्ना क्षमता प्रस्तुत गर्ने महत्वपूर्ण मञ्च हो,” मैनालीले भन्नुभयो।
गायन कला मात्र नभई भावना अभिव्यक्त गर्ने सशक्त माध्यमसमेत भएको उहाँको भनाइ थियो। राम्रो गीतले मानिसको मन छुने, सामाजिक सन्देश प्रवाह गर्ने तथा भाषा, कला र संस्कृतिलाई पुस्तौँसम्म संरक्षण गर्न सहयोग पुर्याउने उहाँले बताउनुभयो।
प्रतियोगितामा प्रथम, द्वितीय वा उत्कृष्ट हुने विद्यार्थीले पुरस्कार तथा सम्मान प्राप्त गर्नु महत्वपूर्ण भए पनि आफ्नो प्रतिभा पहिचान गरी त्यसलाई निरन्तर अभ्यास र मेहनतबाट निखार्दै लैजानु अझ ठूलो उपलब्धि भएको प्रमुख अतिथि मैनालीले उल्लेख गर्नुभयो।
२०४९ सालदेखि शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आएको गोल्डेन फ्यूचर माध्यमिक विद्यालयले शैक्षिक ज्ञानसँगै विद्यार्थीको सिर्जनात्मकता, व्यवहारिक सीप, नैतिक शिक्षा, अनुशासन र समग्र व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
विद्यालयले आयोजना गर्दै आएका यस्ता सिर्जनात्मक कार्यक्रमले विद्यार्थीमा लुकेका प्रतिभा पहिचान गर्नुका साथै शिक्षक, अभिभावक र समुदायलाई समेत विद्यार्थीको क्षमता बुझ्ने अवसर प्रदान गर्ने भएकाले यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।
विद्यालयले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरू तथा अभिभावक, शिक्षक र कर्मचारीको स्वास्थ्य तथा सामाजिक अवस्थाप्रति समेत संवेदनशीलता देखाउँदै आएको छ। विद्यालयमा स्थापना गरिएको कोषमार्फत जटिल स्वास्थ्य समस्या भएका विद्यार्थी तथा उनीहरूका परिवारलाई आवश्यकताअनुसार आर्थिक सहयोग गर्दै आएको विद्यालयले जनाएको छ।
यसै क्रममा दोस्रो गोल्डेन गायन प्रतिभा–प्रतियोगिताको अवसर पारेर कक्षा ७ मा अध्ययनरत विद्यार्थी युनिक पौडेलकी आमा उषा पौडेलको उपचारका लागि विद्यालयको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको थियो।
विद्यालयले प्रतिभा विकाससँगै विद्यार्थी र उनीहरूका परिवारलाई आवश्यक पर्दा सहयोग गर्ने सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्दै आएको उदाहरणका रूपमा उक्त सहयोगलाई लिइएको छ।
कार्यक्रममा विद्यालयका शिक्षक रमेश सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विद्यालय सञ्चालक वीरबल पराजुली, प्रतियोगिताका निर्णायकद्वय दिलीप चौलागाईं र जीवनलाल तोलाङ्गे, शिक्षक तीर्थ दाहाल, विद्यालय व्यवस्थापक रामकृष्ण गौतमलगायत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस