२०८३ भाद्र २२, सोमबार | Mon, 07, Sep, 2026

बनेपामा गोरुको मासु काटेर बिक्रीको आरोप, तीन जना प्रहरी नियन्त्रणमा


१४०५ पाठक संख्या
  • २०८३ भाद्र २१, आईतबार मा प्रकाशित २१ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१, टुकुचामा गोरुको मासु काटेर बिक्रीवितरण गर्दै गरेको सूचनाका आधारमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

    प्रहरी चौकी नाला काभ्रेले प्राप्त सूचनाका आधारमा शनिबार बिहान करिब ८:५५ बजेको समयमा गोरुको मासु काटी बिक्रीवितरण भइरहेको भन्ने खबर पाएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

    प्रहरी चौकी नालाका प्रहरी सहायक निरीक्षक माधव खडकाको कमाण्डमा तथा इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली खटिई घटनास्थलमा अनुसन्धान गर्दा स्थानीय यज्ञकुमार श्रेष्ठको घरमा भाडामा लिएको कोठाबाट करिब २० देखि २५ किलोग्राम गोरुको मासु बरामद गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार मासु बरामद भएको कोठाबाट करिब डेढ किलोमिटर उत्तरतर्फ रहेको खेतमा गोरु काटिएको र मासुबाहेकका अन्य अंगहरू माटोमा गाडिएको अवस्थामा फेला परेका छन्। घटनास्थलबाट छाला पोल्न प्रयोग हुने सामग्रीसमेत बरामद गरिएको जनाइएको छ।

    घटनामा संलग्न रहेको आशंकामा बर्दियाको राजापुर नगरपालिका–२ निवासी ३० वर्षीय रमेश चौधरी, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ निवासी २२ वर्षीय सोमराज तामाङ र काभ्रेको महाभारत गाउँपालिका–२ घर भई हाल बनेपा नगरपालिका–१ टुकुचामा बस्दै आएका ६० वर्षीय ज्ञानबहादुर मोक्तानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    बरामद गरिएको मासु तथा अन्य सामग्री आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ। घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन प्रहरी निरीक्षक धिरजकुमार पटेलको कमाण्डमा सोको (SOCO) अधिकृतसहितको प्रहरी टोली समेत घटनास्थलमा खटाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु