काभ्रेपलाञ्चोक । भाद्र १० गते रसुवाको भोटेकोसीमा आएको बाढीमा परी ज्यान गुमाएका पाँचखाल नगरपालिका–६ निवासी डिकबहादुर कायस्थको परिवारलाई भेटेर पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सान्त्वना व्यक्त गर्नुभएको छ।
शनिबार मृतक कायस्थको निजी निवासमा पुग्नुभएका पूर्वमन्त्री बाँस्कोटाले उहाँकी श्रीमती, छोराछोरी, दाजुभाइ तथा अन्य परिवारजनसँग भेट गरी दुःखद् घटनाप्रति समवेदना प्रकट गर्नुभएको हो।
भेटका क्रममा बाँस्कोटाले शोकमा रहेको परिवारलाई धैर्य धारण गर्न आग्रह गर्दै मृतकका श्रीमती तथा छोराछोरीको आगामी व्यवस्थापनमा परिवारका अन्य सदस्यहरूले समेत आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो।
उहाँले पीडित परिवारको व्यवस्थापन तथा आवश्यक सहयोगका लागि आफू व्यक्तिगत रूपमा र आफ्नो पार्टीको तर्फबाट समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अचानक आएको बाढीमा परी डिकबहादुर कायस्थको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ। दुःखको यस घडीमा पूर्वमन्त्री बाँस्कोटाले घरमै पुगेर दिएको सान्त्वना र सहयोगको प्रतिबद्धताले पीडित परिवारलाई केही राहतको अनुभूति भएको परिवारजनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस