१३ भदौ, काठमाडौं । कास्कीको पोखरामा सडकमा आएको आकस्मिक भेलले बगाउँदा आमा–छोरीको मृत्यु भएको छ।
वर्षापछि सडकको नालीमा आएको तीव्र भेलले बगाउँदा पोखरा महानगरपालिका–३० ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षीया छोरी रानीको मृत्यु भएको हो।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार शुक्रबार साँझ बिरौटाबाट पृथ्वीचोकतर्फ स्कुटरमा आउँदै गर्दा उनीहरूलाई भेलले बगाएको थियो।
ग १३ प २८५९ नम्बरको स्कुटरमा आमा–छोरी सवार थिए। सडकमा भेल बढेपछि स्कुटरलाई साइड लगाएर झर्ने क्रममा बालिका रानीलाई एक्कासि तीव्र गतिमा आएको भेलले बगाएर नालीमा पुर्याएको थियो।
छोरीलाई बचाउने प्रयासमा आमा सुष्मा पनि नालीमा पुगेकी थिइन्। त्यसपछि भेलले आमा–छोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल पोखरा–१७ स्थित बिरौटासम्म पुर्याएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए।
बिरौटास्थित नहरको कुलोबाट उनीहरूलाई अचेत अवस्थामा उद्धार गरिएको थियो। उद्धारपछि तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिए पनि चिकित्सकको प्रयास सफल हुन सकेन।
उपचारका क्रममा सुष्माको शुक्रबार राति मृत्यु भएको थियो भने उनकी २ वर्षीया छोरी रानीको शनिबार बिहान मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए।
अचानक आएको भेलका कारण भएको यस घटनाले पोखरामा वर्षायाममा सडक तथा नालीको पानीको जोखिम फेरि गम्भीर रूपमा उजागर गरेको छ। सामान्य देखिने सडकको भेलसमेत अत्यन्त तीव्र र जोखिमपूर्ण हुनसक्ने भएकाले वर्षाका बेला विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस