२०८३ आश्विन ३, शनिबार | Sat, 19, Sep, 2026

सानेपामा फेरियो दृश्य : थापा नेतृत्वमा देउवा समूहका नेता एकै ठाउँमा


१४५७ पाठक संख्या
  • २०८३ आश्विन २, शुक्रबार मा प्रकाशित १ दिन अघि
  • ललितपुर । नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिएको आन्तरिक दूरी घट्दै गएको संकेत देखिएको छ। १५औँ महाधिवेशनको संघारमा पूर्वसभापति शेरबहादुर देउवा समूहका अधिकांश नेता सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएपछि सानेपामा एकताको नयाँ दृश्य देखिएको हो।

    केन्द्रीय कार्यसम्पादन समितिको २८ भदौमा भएको निर्णयअनुसार १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई केन्द्रीय कार्यसमितिमा समेट्ने निर्णयपछि देउवा समूहका नेताहरू बैठकमा सहभागी भएका हुन्। उनीहरूले पार्टीलाई एकताबद्ध बनाउँदै १५औँ महाधिवेशनमा सबैलाई सहभागी गराउने वातावरण बनाउन आफूहरू बैठकमा आएको बताएका छन्।

    नेता मीन विश्वकर्माले देउवा समूहले अघि सारेका पूर्वसर्तहरू पूरा हुँदै गएकाले महाधिवेशन प्रक्रियामा सहभागी भएको बताए। उनका अनुसार केही माग पूरा भइसकेका छन् भने केही पूरा हुने क्रममा छन्।

    नेता रामहरि खतिवडाले आफू कुनै गुटबाट अलग नभई ‘कांग्रेसको गुट’ भएको भन्दै सबैलाई समेटेर पार्टी अघि बढाउनुपर्ने धारणा राखे। गोविन्द भट्टराईले पनि आफ्ना प्रमुख माग सम्बोधन भएकाले बैठकमा सहभागी भएको बताए।
    सानेपामा देखिएको नयाँ समीकरणप्रति कांग्रेसका नेताहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। उपसभापति विश्वप्रकाश शर्माले पार्टी कार्यालयको ढोकासँगै ‘हृदयको ढोका’ पनि सबैका लागि खुला रहेको बताए। महामन्त्री गुरुराज घिमिरेले नेताहरू मूल प्रक्रियामा समाहित हुनु सुखद् भएको बताए भने महामन्त्री प्रदीप पौडेलले यसबाट १५औँ महाधिवेशनका लागि सबैको सहभागिताको वातावरण बनेको बताए।
    पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पूर्वसभापति शेरबहादुर देउवालाई समेत १५औँ महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिइन्।

    सभापति गगन थापाले भने महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्न आफू आवश्यक लचकता अपनाउन तयार रहेको बताएका छन्। उनले पूर्वसभापति देउवासहित सबै नेताहरूलाई एकै ठाउँमा जोडेर १५औँ महाधिवेशन सम्पन्न गर्न सहयोग र सहकार्यका लागि आग्रह गरे।

    थापाले १६ असोजमा हुने महाधिवेशनको उद्घाटन पूर्वसभापति देउवाबाट गराउने वातावरण बने आफूहरूका लागि सम्मानको विषय हुने बताएका छन्।

    सानेपामा देखिएको यो दृश्यले कांग्रेसभित्रको लामो समयदेखिको दूरी घटाउँदै १५औँ महाधिवेशनलाई साझा प्रक्रियामा अघि बढाउने प्रयास तीव्र भएको संकेत गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार