२०८३ आश्विन ३, शनिबार | Sat, 19, Sep, 2026

पाँचखालको तरकारीको लागि काठमाडौँको उपभोक्ताहरुको लर्को , खेतमै पुगेर उत्पादन निरिक्षण गर्दै खुसियाली साटासाट


४७५९ पाठक संख्या
  • २०८३ आश्विन २, शुक्रबार मा प्रकाशित २१ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । पाँचखालमा उत्पादित स्वच्छ तथा सेमी–अर्गानिक तरकारीप्रति काठमाडौँका उपभोक्ताको विश्वास बढ्दै गएको छ । बजारमा तरकारीको माग बढेसँगै काठमाडौँबाटै उपभोक्ताहरू पाँचखालका खेतबारीमा पुगेर उत्पादन प्रक्रिया, प्रविधि र गुणस्तरको प्रत्यक्ष अवलोकन गर्न थालेका छन् ।

    विगत ३५ वर्षदेखि हरियाली प्रवद्र्धन, स्वास्थ्य, शिक्षा, खानेपानी तथा पशु विकासका क्षेत्रमा क्रियाशील लवग्रीन नेपालले पाँचखाल र आसपासका क्षेत्रमा कृषि प्रवद्र्धन गर्दै आएको छ । संस्थाले पछिल्लो आठ वर्षदेखि कृषक पाठशालामार्फत हजारौँ कृषकलाई एकीकृत शत्रुजीव व्यवस्थापन (IPM) प्रविधिबारे तालिम दिँदै स्वच्छ तथा सुरक्षित तरकारी उत्पादनमा सहजीकरण गर्दै आएको जनाएको छ ।

    लवग्रीन नेपालले पछिल्ला तीन वर्षदेखि बजार व्यवस्थापनमा समेत सक्रियता बढाउँदै काठमाडौँको पेप्सिकोला, टोखास्थित ग्रान्डी भिल्ला, भक्तपुर तथा काभ्रेका विभिन्न स्थानमा बिक्री कक्ष र सहज आपूर्तिको व्यवस्था मिलाएको छ । गुणस्तरीय तरकारीका कारण उपभोक्तामाझ माग बढ्दै गएको संस्थाको भनाइ छ । बढ्दो माग र उपभोक्ताको विश्वासलाई थप सुदृढ गर्ने उद्देश्यले काठमाडौँ तथा ग्रान्डी भिल्लाका करिब १५ जना अगुवा उपभोक्ताले पाँचखालमा उत्पादन भइरहेका सेमी–अर्गानिक तरकारीको स्थलगत निरीक्षण गरेका छन् ।

    लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण ज्ञवालीको नेतृत्व तथा प्राविधिक टोलीको सहभागितामा भएको अवलोकन अघि पाँचखालस्थित संस्थाको प्रधान कार्यालयमा अन्तरक्रिया गरिएको थियो । सो कार्यक्रममा कार्यकारी निर्देशक ज्ञवालीले संस्थाको उद्देश्य, कृषकसँगको सहकार्य र हालसम्मका उपलब्धिबारे जानकारी दिनुभयो ।

    पाँचखाल नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रामशरण दुलालले पाँचखालको तरकारी उत्पादनको विगत र वर्तमान अवस्थाबारे जानकारी दिँदै कृषि क्षेत्रका समस्या, विषादी प्रयोग न्यूनीकरण तथा स्वच्छ उत्पादनका लागि भएका प्रयासबारे धारणा राख्नुभयो ।

    पेप्सिकोला बाट अवलोकन टोटिमा सहभागि अधिवक्ता ददिराम ढकालले आफू विगत एक वर्षदेखि आइपिएम प्रविधिबाट उत्पादित तरकारी नियमित उपभोग गर्दै आएको बताउनुभयो । बजारबाट ल्याइने तरकारी छिट्टै कुहिने गरेको अनुभव सुनाउँदै उहाँले पाँचखालको तरकारी लामो समयसम्म ताजा रहने र स्वादसमेत फरक महसुस हुने बताउनुभयो । उहाँका अनुसार बिचौलियाको तह घटाएर उत्पादनस्थलबाट उपभोक्तासम्म तरकारी पु¥याउने भएकाले मूल्यसमेत तुलनात्मक रूपमा सस्तो पर्ने गरेको छ । खेतमै पुगेर उत्पादन प्रक्रिया देखेपछि आफ्नो विश्वास थप बढेको उहाँको भनाइ छ ।

    ग्रान्डी भिल्लाकी उपभोक्ता ढकालले त्यहाँका करिब ७० देखि ७५ प्रतिशत बासिन्दाले आइपिएम प्रविधिबाट उत्पादित तरकारी प्रयोग गर्ने गरेको बताउनुभयो । मागअनुसार आपूर्ति हुन नसकिरहेको भन्दै उहाँले उत्पादनको परिमाण बढाउदै माग अनुसारको आपुर्तीको लागि अनुरोध गर्नुभयो । उहाँले लौका, भिन्डी र आलुलगायतका तरकारीको स्वाद राम्रो रहेको उल्लेख गर्दै आफन्त तथा माइतीतर्फसमेत कोसेलीका रूपमा पठाउने गरेको बताउनुभयो । कौसी तथा करेसाबारीमा आफैँ तरकारी उत्पादन गर्न चाहने उपभोक्तालाई बीउ, ग्रो ब्याग र प्राङ्गारिक मल उपलब्ध गराउनसमेत उहाँले आग्रह गर्नुभयो ।

    ग्रान्डी भिल्लाकी अर्की उपभोक्ता हिमा श्रेष्ठले पाँचखालको तरकारी पाँच दिनसम्म राख्दा पनि ताजापन कायम रहने अनुभव सुनाउनुभयो । बजारको तुलनामा कम रकममा परिवारलाई एक सातासम्म पुग्ने तरकारी खरिद गर्न सकिने उहाँको भनाइ छ ।

    ग्रान्डी भिल्ला सोसाइटी टोल विकास संस्थाका अध्यक्ष बिवेक शर्मा गौतमले विगतमा पाँचखालमा अत्यधिक विषादी प्रयोग हुने गरेको भन्ने धारणा आफूहरूले सुन्दै आएको भए पनि अहिलेको उत्पादन प्रणाली प्रत्यक्ष अवलोकन गर्दा अवस्था परिवर्तन भएको पाएको बताउनुभयो । उहाँले लवग्रीन नेपाल र जापानी संस्थाबीचको सहकार्यबाट अघि बढाइएको वातावरणमैत्री कृषि अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले भने स्वच्छ उत्पादनसँगै किसानले भोगिरहेका समस्या समाधान गर्न राज्यको ध्यान आवश्यक रहेको बताउनुभयो ।

    उहाँले रासायनिक मल समयमा उपलब्ध नहुँदा किसान कृषि पेसाबाटै पछि हट्न बाध्य भएको बताउँदै आफूले समेत विगतमा नियमित रूपमा काउली र आलु खेती गर्ने गरे पनि पछिल्लो समय खेती गर्न छाडेको उल्लेख गर्नुभयो । राज्यको तर्फबाट १० किलो मात्र मल दिन्छ, १० किलो मलले कसरी खेती गर्ने ?” उहाँले प्रश्न गर्नुभयो ।
    कृषिमा लागत र श्रमअनुसारको उचित मूल्य नपाउँदा किसान निराश बनेको उल्लेख गर्दै उहाँले उत्पादनदेखि बजारसम्म किसानले भोग्दै आएका समस्या समाधान गर्नुपर्ने बताउनुभयो । दुलालले सिन्धुपाल्चोकको जुरेमा पहिरो गएपछि पाँचखालका किसानले तरकारी बजारसम्म पु¥याउन नसक्दा ठूलो आर्थिक क्षति बेहोरेको विगत पनि स्मरण गर्नुभयो ।

    त्यस समयमा पाँचखालको तरकारीमा ‘विष’ रहेको भन्दै भ्रम फैलाइएको दाबी गर्दै उहाँले तरकारीको वास्तविक अवस्था परीक्षण गर्न मागसहित प्रशासनसमक्ष आवाज उठाइएको बताउनुभयो । आन्दोलनपछि कालिमाटीमा पाँचखालका १७ प्रकारका तरकारीको विषादी परीक्षण गरिएको र प्राप्त परीक्षण प्रतिवेदनमा गोलभेँडामा सामान्य बिषादीको अवशेष देखा परेपनि अन्य तरकारीमा विषादी अवशेष नदेखिएको उहाँले बताउनुभयो । गोलभेँडाको उक्त परिणाम स्वीकार्य सीमाभित्र रहेको उहाँको भनाइ थियो ।

    वडा अध्यक्ष दुलालका अनुसार अहिले पाँचखाल, विशेषगरी वडा नं. ६ मा आइपिएम कृषक पाठशाला तथा लवग्रीन नेपालको प्राविधिक सहयोगमा २० भन्दा बढी कृषक समूहले स्वच्छ तरकारी उत्पादनमा काम गरिरहेका छन् । कृषकहरूले गाईको गहुत, तितेपाती, निमका पात तथा भर्मी कम्पोस्टलगायत स्थानीय स्रोतमा आधारित जैविक पदार्थ प्रयोग गर्दै आएका छन् ।

    किरा नियन्त्रणका लागि पहेँलो स्टिकी ट्र्याप (Yellow Trap) लगायतका प्रविधि प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो । पाँचखालको तरकारीलाई आफ्नै ब्रान्ड र लोगोमार्फत गुणस्तर मापन गरी ओमनसम्म निर्यात गर्ने तयारीसमेत अन्तिम चरणमा पुगेको वडा अध्यक्ष दुलालले जानकारी दिनुभयो । तर कोरोना महामारीका कारण उक्त योजना अघि बढ्न नसकेको उहाँको भनाइ छ । स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सके किसानको आयआर्जन बढ्नुका साथै पाँचखालको कृषि उत्पादनले छुट्टै पहिचान बनाउन सक्ने उहाँले बताउनुभयो ।

    लवग्रीन नेपालले वृक्षरोपण, सिँचाइ कुलो, विद्यालय भवन निर्माण, सामुदायिक वन विकास तथा कृषकलाई आइपिएमसम्बन्धी तालिमलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । पाँचखाल नगरपालिकाले समेत सामुदायिक वन क्षेत्रमा लिची, कटहर, आँपलगायतका फलफूलका बिरुवा रोपेर आगामी वर्षहरूमा स्थानीय उत्पादन र आयआर्जन बढाउने दीर्घकालीन योजना अघि बढाएको जनाएको छ । खेतबारी निरीक्षणका क्रममा उपभोक्ताहरूले लहरे बालीमा लाग्ने औँसा झिँगा नियन्त्रण, ब्याक्टेरियामा आधारित प्रविधि तथा अन्य जैविक विधिबारे प्राविधिकसँग जिज्ञासा राखिएको थियो ।

    उत्पादनस्थलमै पुगेर उपभोक्ताले तरकारी उत्पादनको प्रक्रिया बुझ्ने र किसानसँग प्रत्यक्ष संवाद गर्ने अभ्यासले उत्पादक र उपभोक्ताबीचको दूरी घटाउने देखिएको छ । पाँचखालका किसानका लागि बजार सुनिश्चित गर्दै काठमाडौँका उपभोक्तालाई गुणस्तरीय तरकारी उपलब्ध गराउने उद्देश्यले अघि बढाइएको यो सहकार्यले किसानको आम्दानी, उपभोक्ताको स्वास्थ्य र वातावरणमैत्री कृषि—तीनै पक्षलाई जोड्ने प्रयासका रूपमा गति लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार