२०८३ भाद्र २८, आईतबार | Sun, 13, Sep, 2026

बाढीले भत्काएका पुल जोड्न भारतबाट तीन बेलिब्रिज


९८९ पाठक संख्या
  • २०८३ भाद्र २७, शनिबार मा प्रकाशित १३ घण्टा अघि
  • २७ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त रसुवा र नुवाकोटका सडक सञ्जाललाई पुनः जोड्न भारत सरकारले नेपाललाई तीन वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल पुल) सहयोग गरेको छ।

    बाढीले रसुवा र नुवाकोटका विभिन्न स्थानमा रहेका पक्की पुल बगाएपछि तत्काल यातायात सञ्चालन गर्ने उद्देश्यले भारतीय दूतावासले शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई तीन वटा बेलिब्रिज हस्तान्तरण गरेको हो।

    भारतीय दूतावासका प्रतिनिधि नारायण सिंहले सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख किरण कार्कीलाई बेलिब्रिज हस्तान्तरण गरेका थिए। सिंहका अनुसार भारत सरकारको सहयोगमा प्रत्येक ७० मिटर बराबरका तीन वटा बेलिब्रिज नेपाललाई उपलब्ध गराइएको हो।

    भारतले यसअघि पनि विपद्पछि अवरुद्ध सडक सञ्जाल पुनः सञ्चालन गर्न नेपाललाई बेलिब्रिज सहयोग गर्दै आएको छ। मंसिर २०८२ मा भारत सरकारले १० वटा बेलिब्रिज सहयोग गरेको थियो। २०८१ असोजमा आएको बाढीपहिरोबाट काभ्रे, रामेछाप र सिन्धुलीलगायत जिल्लाको सडक सञ्जाल प्रभावित भएपछि सडक डिभिजन कार्यालय हेटौंडालाई करिब ३८ करोड रुपैयाँ मूल्य बराबरका १० वटा बेलिब्रिज उपलब्ध गराइएको थियो।

    बेलिब्रिज हस्तान्तरण कार्यक्रममा मकवानपुर–१ का प्रतिनिधिसभा सदस्य प्रकाश गौतमले विपद्का समयमा छिमेकी मुलुक भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले बाढीका कारण रसुवा र नुवाकोटमा ठूलो संख्यामा पुल क्षतिग्रस्त भएकाले आवश्यकताअनुसार थप बेलिब्रिज उपलब्ध गराउन भारत सरकारसँग आग्रहसमेत गरे।

    गत १० भदौमा आएको बाढी ले रसुवा, नुवाकोटसहित विभिन्न जिल्लामा सडक तथा पुल संरचनामा व्यापक क्षति पुर्‍याएको थियो। सडक विभागका अनुसार रसुवादेखि चितवनसम्म जोडिएको सडकखण्डमा मात्रै ४१ वटा मोटरेबल पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

    बाढीबाट तहसनहस बनेको सडक पूर्वाधार पुनर्निर्माण र तत्काल यातायात सञ्चालनका लागि बेलिब्रिज सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। क्षतिग्रस्त पुलको स्थानमा अस्थायी रूपमा बेलिब्रिज जडान भएपछि प्रभावित क्षेत्रको आवागमन सहज हुनुका साथै राहत, उद्धार तथा पुनर्निर्माणका कामले समेत गति लिने विश्वास गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु