काठमाडौं । सरकारले भारत, चीन, अमेरिका, बेलायतसहित १३ महत्वपूर्ण मुलुकका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रका विज्ञ, प्राज्ञिक, सुरक्षा तथा सार्वजनिक नीतिमा अनुभव भएका व्यक्तिहरूलाई राजदूतका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
लामो समयदेखि महत्वपूर्ण मुलुकस्थित नेपाली नियोगहरूमा राजदूत पद रिक्त रहँदै आएको अवस्थामा सरकारले नियुक्ति प्रक्रिया अघि बढाएको हो। भारत, चीन, अमेरिका, बेलायत, जापान, जर्मनी, दक्षिण कोरिया, इजरायल, मलेसिया, ओमान, स्पेन, श्रीलंका र साउदी अरेबियाका लागि नयाँ राजदूत सिफारिस गरिएको छ।
सरकारले यसअघि राजदूत पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन तथा सिफारिस आह्वान गरेको थियो। परराष्ट्र मन्त्रालयले जेठ २२ गतेसम्म आवेदन/सिफारिस बुझाउन आह्वान गर्दै प्रारम्भिक सूची तयार गरी योग्यता र उपयुक्तताका आधारमा सर्टलिस्ट गर्ने जनाएको थियो।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापालाई प्रस्ताव गरेको छ। त्यस्तै बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणाको नाम सिफारिस भएको छ।
अन्य प्रस्तावित राजदूतमा जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार छन्।
मन्त्रिपरिषद्को सिफारिससँगै प्रक्रिया भने पूरा भएको छैन। प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि पठाइनेछ। सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट ‘एग्रिमो’ प्राप्त गर्नुपर्नेछ। त्यसपछि मात्र राष्ट्रपतिले औपचारिक रूपमा राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।
राजदूत नियुक्तिलाई कूटनीतिक प्रतिनिधित्वसँगै द्विपक्षीय सम्बन्ध, आर्थिक कूटनीति, व्यापार, लगानी, पर्यटन तथा विदेशमा रहेका नेपालीका हितसँग जोडिएको महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिन्छ।
| मुलुक | प्रस्तावित राजदूत |
|---|---|
| भारत | डा. निश्चलनाथ पाण्डे |
| चीन | डा. कल्याणराज शर्मा |
| अमेरिका | चिरनजंग थापा |
| बेलायत | गौरव शम्शेर जंगबहादुर राणा |
| जापान | जिग्यानकुमार थापा |
| इजरायल | सुरेशकुमार कर्ण |
| स्पेन | प्राप्ति शेरचन |
| जर्मनी | शरू जोशी |
| ओमान | डा. पद्माक्षी राणा |
| मलेसिया | चूडामणि खरेल |
| दक्षिण कोरिया | प्रा. डा. सङ्गम श्रेष्ठ |
| श्रीलंका | डा. मञ्चला झा |
| साउदी अरेबिया | गिरीबहादुर सुनार |

प्रतिक्रिया दिनुहोस