काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–३ मा रहेको प्रतिष्ठा कृषि सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा सम्पन्न सभामा पाँचखाल नगरपालिका–३ का वडा अध्यक्ष तथा संस्थाका शेयर सदस्य सुन्दर अधिकारी प्रमुख अतिथि रहेका थिए।
सभामा संस्थाका १ हजार ६ सय ४५ शेयर सदस्यको सहभागिता रहेको थियो। कार्यक्रममा सञ्चारकर्मी इस्वरी राज कुमार मैनाली, पाँचखाल नगरपालिका–५ का वडा अध्यक्ष तथा संस्थाका शेयर सदस्य सीताराम ढुंगाना, प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशवप्रसाद काफ्ले, आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाका सचिव रामप्रसाद कोइराला, स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष सुनिल सापकोटा र ग्रामीण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष इन्दिरा गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
संस्थाका सचिव प्रदीप पौडेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष श्यामबहादुर दुलालले स्वागत मन्तव्य व्यक्त गरेका थिए। सभामा लेखा तथा सुपरिवेक्षण समिति संयोजक अमृत दुलालले लेखा प्रतिवेदन, कोषाध्यक्ष सीताराम अधिकारीले आर्थिक प्रतिवेदन तथा सचिव पौडेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
कृषि तथा दुग्ध क्षेत्रमा केन्द्रित रही सेवा प्रदान गर्दै आएको संस्थाले सञ्चालन गरेका सातवटै दुग्ध संकलन केन्द्रबाट सबैभन्दा बढी दूध उपलब्ध गराउने कृषक तथा दुग्ध संकलकलाई साधारण सभाको अवसरमा सम्मान गरिएको थियो। साथै उत्कृष्ट बचतकर्ता र उत्कृष्ट बाल बचतकर्तालगायतलाई समेत सम्मान गरिएको संस्थाले जनाएको छ।
साधारण सभामा सहभागी शेयर सदस्यलाई परम्परागत रूपमा दिइने खाजाको सट्टा नजिकिँदै गरेको हिन्दूहरूको महान् पर्वलाई लक्षित गरी प्रति शेयर सदस्य एक किलो जिरा उपलब्ध गराइएको थियो।
संस्थाका अनुसार हाल शेयर पुँजी १ करोड ५० लाख १७ हजार २ सय रुपैयाँ, बचत रकम ५ करोड ३ लाख ३७ हजार ७ सय १८ रुपैयाँ तथा विभिन्न कोषमा १ करोड ७१ लाख ६४ हजार ९ सय ५६ रुपैयाँ रहेको छ।
कृषकको आर्थिक तथा व्यावसायिक हितलाई प्राथमिकतामा राख्दै आएको सहकारीले आगामी दिनमा सदस्य तथा कृषकलाई थप सुविधा दिने उद्देश्यले सुपथ कृषि पसल तथा दुग्धजन्य पदार्थको पसल सञ्चालन गर्ने नीति अघि सारेको छ। संस्थाले कृषि उत्पादन, दुग्ध संकलन तथा सहकारीमार्फत कृषकको आयआर्जनमा सहयोग पुर्याउने गतिविधिलाई थप प्रभावकारी बनाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस