काठमाडौं, ३ असोज । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चलेको घटना सार्वजनिक भएको छ। गोली लागेर एक जना घाइते भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
केहीबेरअघि स्थानीयबाट गोली चलेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए।
गोली चल्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाको वास्तविकता र गोली चल्नुको कारणबारे प्रहरीले अनुसन्धान तथा सोधपुछ सुरु गरेको छ।
सुनसरी जिल्ला प्रहरी कार्यालयका डीएसपी चन्द्र खड्काका अनुसार गोली लागेर एक जनाको तिघ्रामा चोट लागेको प्रारम्भिक सूचना प्राप्त भएको छ। घाइतेको अवस्था तथा घटनाको विस्तृत विवरण भने अझै खुल्न बाँकी छ।
स्थानीयवासीले गोली चलेको जानकारी गराएपछि प्रहरी घटनास्थलतर्फ गएको हो। घटनास्थलमा प्रहरी पुगेपछि घटनाको प्रकृति, गोली चलाउने व्यक्ति तथा त्यसको कारणबारे थप विवरण आउने प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस