२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्। खुलातर्फ चन्द्र भण्डारी र मधु आचार्य तथा समावेशीतर्फ विनोद चौधरी उपसभापतिमा विजयी भएका हुन्।
खुलातर्फको उपसभापति पदमा चन्द्र भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत प्राप्त गर्दै विजय हासिल गरे। त्यस्तै, मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरी उपसभापति पदमा निर्वाचित भए।
समावेशी उपसभापति पदमा विनोद चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै विजय हासिल गरे। उक्त पदका प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरे।
खुलातर्फको उपसभापति पदमा प्रतिस्पर्धा गरेका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।
यसैबीच, महिला उपसभापति पदमा पुष्पा भुसाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छन्। त्यसैगरी, वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा पनि निर्विरोध निर्वाचित भएका थिए।
उपसभापति पदको निर्वाचन परिणामसँगै नेपाली कांग्रेसको नेतृत्व तहमा विभिन्न समूहको प्रतिनिधित्व सुनिश्चित भएको छ।

प्रतिक्रिया दिनुहोस