२०८३ आश्विन २४, शनिबार | Sat, 10, Oct, 2026

बनेपामा ज्वालामुखी’ सार्वजनिक


७१२५ पाठक संख्या
  • २०८३ आश्विन २४, शनिबार मा प्रकाशित ८ घण्टा अघि
  • बनेपा । प्रगतिशील लेखक सङ्घ (प्रलेस), काभ्रेको आयोजनामा युवा कवि रामेश्वर आचार्यद्वारा लिखित कविता सङ्ग्रह ‘विचारको ज्वालामुखी’ लोकार्पण गरिएको छ। बडादशैँको अवसरमा शुभकामना आदानप्रदान, नियमित कवि गोष्ठी तथा साहित्यिक विमर्शसहित शनिबार बनेपा नगरपालिका–९ स्थित किटली क्याफेमा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा प्रमुख अतिथि प्रगतिशील लेखक सङ्घ, बागमती प्रदेशका पूर्वअध्यक्ष प्रा. डा. हरि सिलवालले कविता सङ्ग्रहको लोकार्पण गर्दै कृतिमाथि विस्तृत विवेचनात्मक समालोचना प्रस्तुत गर्नुभयो। उहाँले सङ्ग्रहमा समेटिएका कविताको भाव, विचार, वैचारिक गहिराइ तथा साहित्यिक पक्षमाथि चर्चा गर्दै कृतिको सिर्जनात्मक विशेषताबारे प्रकाश पार्नुभयो। साथै, गोष्ठीमा प्रस्तुत अन्य कविताहरूको समेत समीक्षा गर्नुभयो।

    कार्यक्रममा स्रष्टा विशेषका रूपमा सम्मानित कवि रामेश्वर आचार्यले आफ्नो सिर्जनायात्रा र ‘विचारको ज्वालामुखी’ कविता सङ्ग्रहको पृष्ठभूमिबारे विचार व्यक्त गर्नुभयो। उहाँले कृतिमा अभिव्यक्त विचार, अनुभूति र साहित्यिक दृष्टिकोणबारे चर्चा गर्दै आफ्नो सिर्जनात्मक अनुभव साझा गर्नुभयो।

    कार्यक्रमका अध्यक्ष तथा प्रगतिशील लेखक सङ्घ, काभ्रेका अध्यक्ष रक्तिम लामाले मार्क्सवादी–प्रगतिवादी साहित्यको वैचारिक आधार र सामाजिक रूपान्तरणमा यसको भूमिकाबारे धारणा राख्नुभयो। उहाँले साहित्यलाई मनोरञ्जनमा मात्र सीमित नराखी समाजमा विद्यमान वर्गीय अन्तर्विरोध, शोषण, उत्पीडन र विभेदलाई उजागर गर्दै न्यायपूर्ण समाज निर्माणको पक्षमा उभिनुपर्ने बताउनुभयो।

    लामाले श्रमजीवी वर्गका पक्षमा साहित्यले निर्वाह गर्नुपर्ने दायित्वमाथि जोड दिँदै जनताको जीवन, सङ्घर्ष, आशा र परिवर्तनको आकाङ्क्षालाई साहित्यिक सिर्जनामार्फत सशक्त रूपमा अभिव्यक्त गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

    कवि गोष्ठीमा मुरहरी रायमाझी, शारदाप्रसाद शर्मा, उपेन्द्र दाहाल, नवराज रायमाझी, बलराम बिष्ट, श्रीकृष्ण पाण्डे, केशव घिमिरे, सरस्वती चिमोरिया, दिनेशराज खरेल, भवानी पाण्डे, सुभद्र अधिकारी, अल्फिफोहिन फाक्लुक्पा, केशव ज्ञवाली, विजया शर्मा, शिलाकुमारी खरेल र राधिका घिमिरेलगायतका कविहरूले आफ्ना कविता तथा साहित्यिक रचना वाचन गर्नुभयो। कविहरूका सिर्जनामार्फत समसामयिक सामाजिक, सांस्कृतिक तथा वैचारिक विषयवस्तु अभिव्यक्त भएका थिए।

    कार्यक्रममा नवराज दाहाल ‘उत्साही’ले स्वागत मन्तव्य राख्नुभएको थियो भने श्रीकृष्ण पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

    साहित्यिक सिर्जना, विचार विमर्श र स्रष्टाहरूबीचको अन्तरक्रियालाई केन्द्रमा राखेर आयोजित कार्यक्रमले काभ्रेको साहित्यिक गतिविधिलाई थप सक्रिय बनाउनुका साथै मार्क्सवादी–प्रगतिवादी साहित्यको महत्त्व र सामाजिक रूपान्तरणमा साहित्यको भूमिकाबारे बहस गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑