२०८३ आश्विन २४, शनिबार | Sat, 10, Oct, 2026

प्रगतिशीलमा शुभप्रसाद अधिकारीको नेतृत्व


३१२१ पाठक संख्या
  • २०८३ आश्विन २४, शनिबार मा प्रकाशित ६ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखालमा सञ्चालित प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। साधारणसभामा संस्थाको आर्थिक अवस्था, वित्तीय कारोबार तथा प्रगतिको समीक्षा गर्दै उत्कृष्ट बचतकर्ता, असल ऋणी, बाल बचतकर्ता, ज्येष्ठ सदस्य र शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ।

    संस्थाका अध्यक्ष केशवप्रसाद काफ्लेको अध्यक्षता तथा संस्थाका शेयर सदस्य एवं पाँचखाल नगरपालिका उपप्रमुख सूर्यमाया दनुवारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

    संस्थाका सचिव रमेशप्रसाद सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष सरोज न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो।

    कार्यक्रममा विशेष अतिथिका रूपमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोककी प्रवक्ता एवं संस्थाकी शेयर सदस्य अप्सरा ढुंगाना सिपखान, संस्थापक अध्यक्ष विष्णुप्रसाद भट्टराई, पाँचखाल नगरपालिका–३ का वडाध्यक्ष एवं संस्थाका शेयर सदस्य सुन्दर अधिकारी, संस्थाका सल्लाहकार शुभप्रसाद अधिकारी, आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाका सचिव रामप्रसाद कोइराला, स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष सुनिल सापकोटा र ग्रामीण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष इन्दिरा गौतमलगायतले सहकारीको भूमिका, सदस्यको आर्थिक उन्नति तथा संस्थागत विकासका विषयमा मन्तव्य राख्नुभएको थियो।

    संस्थामा हाल दुई हजार २३ जना शेयर सदस्य रहेका छन्। संस्थाले उपलब्ध गराएको विवरणअनुसार शेयर पुँजी दुई करोड ९३ लाख ९२ हजार ८०० रुपैयाँ रहेको छ भने बचत रकम १५ करोड २९ लाख २८ हजार ५९६ रुपैयाँ पुगेको छ।

    संस्थाले गरेको कर्जा लगानी १३ करोड ६८ लाख ९६ हजार २४५ रुपैयाँ रहेको छ। त्यसैगरी कर्जा असुली सात करोड आठ लाख ९२ हजार २३७ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

    संस्थाले सञ्चालन गरेको मार्ट पसलतर्फको शेयर पुँजी १२ लाख २० हजार रुपैयाँ रहेको छ। संस्थाको आयकर व्यवस्थाअघिको खुद बचत (नाफा) गत आर्थिक वर्षमा ४५ लाख १० हजार २८३ रुपैयाँ रहेकामा चालु आर्थिक वर्षमा ११ लाख तीन हजार १०८ रुपैयाँ रहेको छ।

    साधारणसभाका अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, असल ऋणी, उत्कृष्ट बाल बचतकर्ता तथा ज्येष्ठ सदस्यलाई सम्मान गरेको थियो। साथै, एसईई परीक्षा र कक्षा १२ मा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो।

    सहकारीले बचत तथा कर्जा कारोबारसँगै बालबालिकामा बचत गर्ने बानीको विकास, ज्येष्ठ सदस्यको सम्मान र शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको हो।

    साधारणसभाले शुभप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा तोयनाथ सापकोटा, सचिवमा रमेशप्रसाद सापकोटा र कोषाध्यक्षमा सुरेन्द्रकुमार थापा चयन हुनुभएको छ।

    त्यसैगरी कार्यसमिति सदस्यमा अनिता गिरी, कल्पना हुमागाईं, सीता कोइराला, उद्धवप्रसाद अधिकारी र राजन सार्की चयन हुनुभएको छ।

    लेखा समिति संयोजकमा सुदर्शन अधिकारी तथा सदस्यमा महेश अधिकारी र रामशरण अधिकारी चयन हुनुभएको छ।

    स्थानीयस्तरमा बचत परिचालन, कर्जा प्रवाह तथा सदस्यको आर्थिक गतिविधिलाई सहयोग गर्दै आएको संस्थाले आगामी दिनमा समेत सदस्यकेन्द्रित सेवा र संस्थागत विकासलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑