२०८३ अषाढ २२, सोमबार | Mon, 06, Jul, 2026

धुलिखेल–खावा सडक सबै सवारीका लागि खुला, यातायात रोक्ने निर्णय फिर्ता


१११९ पाठक संख्या
  • २०८३ अषाढ २२, सोमबार मा प्रकाशित ७ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । २२ असार । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा स्तरोन्नति कार्यका लागि सवारी आवागमनमा लगाउने भनिएको समयगत प्रतिबन्ध तत्कालका लागि स्थगित गरिएको छ। सडक डिभिजन कार्यालय, भक्तपुरले आइतबार सार्वजनिक सूचना जारी गर्दै पूर्वनिर्धारित निर्णय कार्यान्वयन नगरी सडकलाई पूर्ण रूपमा सञ्चालनमा राखिएको जनाएको हो।

    यसअघि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको २०८३ असार १० गते बसेको समन्वय बैठकले धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यलाई सहज बनाउन असार २२ गतेदेखि साउन ४ गतेसम्म प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म टिप्पर, ट्रक तथा अन्य यात्रुवाहक एवं मालवाहक सवारीसाधनको आवागमन रोक्ने निर्णय गरेको थियो।

    तर, पछिल्ला दिनमा निरन्तर वर्षा भइरहेका कारण सिमेन्ट ट्रिटेड बेस (Cement Treated Base–CTB) तथा डीबीएम (Dense Bituminous Macadam–DBM) सम्बन्धी निर्माण कार्य अघि बढाउन कठिनाइ उत्पन्न भएपछि उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ।

    डिभिजन प्रमुख इ. सुमन योगेशद्वारा हस्ताक्षरित सूचनामा निर्माण कार्यका लागि अनुकूल मौसम र अवस्था सिर्जना भएपछि नयाँ निर्णय गरिने उल्लेख गरिएको छ। हालका लागि भने धुलिखेल–खावा सडकखण्डमा सबै प्रकारका सवारीसाधन पूर्ववत् रूपमा सञ्चालन हुने र यात्रु तथा चालकहरूलाई सहज रूपमा आवतजावत गर्न सकिने जनाइएको छ।

    सडक डिभिजन कार्यालयले मौसमको अवस्था र निर्माण कार्यको प्रगतिका आधारमा आवश्यक परे पुनः नयाँ सूचना जारी गरिने जानकारी पनि दिएको छ। यससँगै पूर्वनिर्धारित समयगत यातायात प्रतिबन्ध लागू नहुने भएकाले सर्वसाधारण, यातायात व्यवसायी तथा मालवाहक सवारी सञ्चालकलाई भ्रममा नपर्न आग्रह गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार