२०८३ अषाढ २३, मंगलबार | Tue, 07, Jul, 2026

एपीएफ स्कुलमा ११ करोडको आर्थिक अनियमितता, लेखापाल इन्स्पेक्टरसहित दुई पक्राउ


११४५ पाठक संख्या
  • २०८३ अषाढ २३, मंगलबार मा प्रकाशित २ घण्टा अघि
  • काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा करिब ११ करोड रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको आशङ्कामा काठमाडौं प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न रहेको आरोपमा विद्यालयकी लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कल्पना गुरुङ र एमडी एड्भेन्चर ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक लिला बहादुर लामा तामाङ पक्राउ परेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुवै जनालाई असार २० गते पक्राउ गरी ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

    प्रहरीका अनुसार सशस्त्र प्रहरी बलको आन्तरिक छानबिनमा वित्तीय कारोबारमा गम्भीर त्रुटि भेटिएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले घटनाको अनुसन्धानका लागि काठमाडौं प्रहरीलाई औपचारिक रूपमा पत्राचार गरेको थियो।

    विद्यालयको रकम ट्राभल्स कम्पनीमा

    प्रारम्भिक अनुसन्धानले विद्यालयको खातामा रहनुपर्ने करिब ११ करोड रुपैयाँ विद्यालयसँग कुनै व्यावसायिक सम्बन्ध नै नरहेको एमडी एड्भेन्चर ट्राभल्स एण्ड टुर्स प्रालिको खातामा अनधिकृत रूपमा स्थानान्तरण गरिएको देखाएको छ। उक्त रकम चालु आर्थिक वर्षभित्र विभिन्न चरणमा ट्रान्सफर गरिएको प्रहरीको भनाइ छ।

    लिला बहादुर लामा तामाङ काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीका स्थायी बासिन्दा हुन्। नक्सालस्थित उनको ट्राभल्स कम्पनीमार्फत रकम अन्य क्षेत्रमा समेत लगानी गरिएको हुन सक्ने आशङ्कामा प्रहरीले वित्तीय कारोबारको विस्तृत विश्लेषण गरिरहेको छ।

    ‘भाउडे’मा पनि लगानी भएको आशङ्का

    अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार लामा लैनचौरस्थित ‘भाउडे’ नामक आउटडोर पोशाक तथा रेस्टुरेन्ट व्यवसायका प्रमुख लगानीकर्तामध्ये एक हुन्। विद्यालयबाट ट्राभल्स कम्पनीमा पुगेको रकम अप्रत्यक्ष रूपमा उक्त व्यवसायमा समेत लगानी गरिएको हुन सक्ने आशङ्कामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    यद्यपि, हालसम्म विद्यालयको रकम सिधै ‘भाउडे’मा गएको पुष्टि नभएको र आर्थिक प्रवाहको सम्पूर्ण श्रृंखला परीक्षण भइरहेको प्रहरी स्रोतले जनाएको छ।

    तीन बैंकबाट करोडौं रुपैयाँ स्थानान्तरण

    अनुसन्धानबाट विद्यालयको रकम ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकका खाताबाट अनधिकृत रूपमा ट्रान्सफर गरिएको खुलेको छ।

    प्रहरीका अनुसार इन्स्पेक्टर गुरुङले विद्यालयका आधिकारिक पत्र तयार गरी आफैं बैंक शाखाहरूमा पुगेर रकम स्थानान्तरण गराएकी थिइन्। केही रकम भने कनेक्ट आईपीएस प्रणालीमार्फत पनि ट्रान्सफर गरिएको देखिएको छ।

    अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार विद्यालयका कमाण्डेन्टलाई जानकारी नदिई तथा झुक्याएर कीर्तिपुर बाहिरका बैंक शाखामार्फत समेत रकम स्थानान्तरण गरिएको प्रारम्भिक निष्कर्ष छ।

    ६ वर्षदेखि एउटै जिम्मेवारी

    इन्स्पेक्टर गुरुङ विगत छ वर्षदेखि विद्यालयको लेखा शाखामा कार्यरत थिइन्। उनी सशस्त्र प्रहरी नायव निरीक्षक (सई) हुँदा पनि यही जिम्मेवारीमा थिइन् भने निरीक्षकमा बढुवा भएपछि पनि चार वर्षदेखि निरन्तर सोही पदमा कार्यरत रहेको खुलेको छ।

    सशस्त्र प्रहरी प्रधान कार्यालयले प्रारम्भिक छानबिनका क्रममा चार आर्थिक वर्षका बैंकिङ कारोबारको विवरण समेत परीक्षण गरेको जनाएको छ। यसअघि पनि चालु आर्थिक वर्षभन्दा अघिका वर्षहरूमा समेत यस्तै प्रकृतिको आर्थिक अनियमितता भएको हुन सक्ने आशङ्कामा अनुसन्धान विस्तार गरिएको छ।

    यसअघि पनि उठेको थियो अनियमितताको विषय

    एपीएफ स्कुल गुठी अन्तर्गत सञ्चालन हुँदै आएको विद्यालय हो। यसको प्रशासनिक नेतृत्व सशस्त्र प्रहरी बलसँग भए पनि स्थानीय तहको शैक्षिक नियमनअन्तर्गत सञ्चालन हुँदै आएको छ।

    यसअघि २०८२ मंसिरमा विद्यालयको रासन व्यवस्थापनमा अनियमितता भएको आरोप लगाउँदै विभिन्न निकायमा उजुरी परेको थियो। अहिलेको घटनापछि विद्यालयको समग्र वित्तीय प्रणाली, आन्तरिक नियन्त्रण र लेखा परीक्षण प्रक्रियामाथि समेत प्रश्न उठेको छ।

    प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता, रकमको अन्तिम उपयोग र विगतका आर्थिक कारोबारसमेत केन्द्रीय अनुसन्धानको दायरामा राखेर अनुसन्धान जारी राखेको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार