२०८३ श्रावण २, शनिबार | Sat, 18, Jul, 2026

देशभर तीन दिन मुसलधारे वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो


८३३ पाठक संख्या
  • २०८३ श्रावण २, शनिबार मा प्रकाशित २0 घण्टा अघि
  • काठमाडौं, २ साउन। जल तथा मौसम विज्ञान विभागले आजदेखि आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

    विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास र पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले देशभर उल्लेख्य वर्षा हुने सम्भावना देखिएको हो।

    विभागका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुने तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षाको पूर्वानुमान गरिएको छ।

    सम्भावित वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहने विभागले जनाएको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत प्रतिकूल असर पार्न सक्ने भएकाले प्रभावित क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने हिमाली क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ।

    आज राति पनि देशका अधिकांश स्थानमा बदली रही मेघगर्जन र चट्याङसहित वर्षा जारी रहने सम्भावना छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले विभागले पछिल्ला मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार