२ साउन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१२ सेरागाउँमा धान रोप्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।
मृत्यु हुनेमा स्थानीय ६१ वर्षीय कान्छा दनुवार रहेका छन्। शुक्रबार दिउँसो करिब २ बजे आफ्नै खेतमा धान रोपिरहेका बेला पानी तान्न प्रयोग गरिएको मोटर (पानी तान्ने मेसिन) को नाङ्गो विद्युतीय तार पानीमा डुबेको अवस्थामा रहेकाले सोही तारबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
घाइते दनुवारलाई उपचारका लागि धुलिखेल अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा अपराह्न ४ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
उक्त घटनामा सोही स्थानकी २६ वर्षीया अनु दनुवार पनि करेन्ट लागेर घाइते भएकी छन्। उनको दाहिने हातको बुढी औँलामा चोट लागेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट प्रहरी निरीक्षकको नेतृत्वमा SOCO (Scene of Crime Officer) सहितको टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनास्थलको मुचुल्का तयार पार्नुका साथै मृत्युको कारण र घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस